कांग्रेस सांसद गगन थापाद्वारा एसपीपीबारे प्रधानमन्त्री देउवाको जवाफ माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का बारेमा प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्‍मा प्रस्ट पार्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभामा आफ्ना कुरा राख्दै थापाले प्रधानमन्त्रीले आफ्नै शैलीमा संसद‍्‍मा उपस्थित भएर ‘हुँदैन, हुँदैन, हुँदैन’ भनेर प्रस्ट जवाफ दिनुपर्ने बताएका हुन् ।

‘अहिले प्रधानमन्त्री मेरो पार्टीको सभापतिसमेत हुनुहुन्छ । नेपाल यस्तो खालको सामरिक स्वार्थ भएको ठाउँमा न कहिल्यै थियो, न कहिल्यै हुनेछ । त्यसैले प्रधानमन्त्रीज्यूको कुरा पनि यही हो भन्ने मलाई लाग्छ । म आग्रह गर्न चाहन्छु, आजै यो विषयमा प्रस्टसँग उहाँले आफ्नो धारणा राखिदिनुहुनेछ,’ उनले भने, ‘अमेरिका के चाहन्छ, त्यो उसको कुरा हो । हामीले के गर्ने हो, त्यो यहाँ उभिएर प्रधानमन्त्रीले प्रस्ट गरिदिएपछि हामीलाई ढुक्क हुन्छ ।’

उनले सामरिक विषयहरूमा नेपालले सजग भएर कदम चाल्नुपर्ने बताए । ‘जहाँ सामरिक विषय हुन्छ, त्यो विषयमा हामीजस्तो देशले शक्ति राष्ट्रहरूको छेऊमा पनि जानु हुँदैन । यो मेरो विचार मात्रै होइन, नेपालको संविधानले नै त्यही भन्छ । मेरो पार्टी नेपाली कांग्रेस पार्टीको निर्णयले पनि त्यही भन्छ,’ महामन्त्री थापाले अघि भने ।