‘एसपीपी’लाई लिएर मुलुकलाई भूराजनीतिक द्वन्द्वमा नधकेल्न एमालेको चेतावनी

काठमाडौँ — प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी)सम्झौतालाई लिएर मुलुकलाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने नगर्न चेतावनी दिएको छ । एमालेले एसपीपी सम्झौताले मुलुकलाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने र त्यसलाई कुनै पनि हालतमा स्वीकार्न नसकिने बताएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा पूर्वपरराष्ट्रमन्त्री तथा एमालेका सांसद प्रदीप ज्ञवालीले एसपीपीबारे सरकारलाई संसद्‍मा जवाफ दिन माग गरेका छन् । एसपीपी सम्झौताको मस्यौदाले मुलुकलाई चिन्तामा पारेको उनको भनाइ थियो ।

नेपाल सैन्य गठबन्धनमा जोडिँदा नेपालको परराष्ट्रनीति उल्लंघन हुने ज्ञवालीको भनाइ थियो । प्रस्ताव भनेर सार्वजनिक भएका विषय गम्भीर रहेको उनले बताए । नेपाल संयुक्त राष्ट्रसंघको आह्वानमा संसारका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनाका लागि मात्रै नेपाली सेना जाने गरेको तर सरकारले अहिले आएर सैन्य गठबन्धनमा जोड्न खोजेको आरोप लगाए । उनले प्रश्न गरे, ‘कसको कमान्ड, ब्यानरमा नेपाली सेनालाई अगाडि लिन खोजिँदैछ ? नेपालको एउटा छिमेकीको ढोकैनेर गएर सैनिक गतिविधि गर्न दिने ?’