बजेट निर्माणमा राष्ट्रघात भएको छैन, जिम्मेवार छु : अर्थमन्त्री शर्मा

अथमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा राष्ट्रघात नभएको बताएका छन्। बाहिरी मानिसले अनधिकृत रूपमा राजश्वका दर हेरफेर गरेको भन्दै अर्थमन्त्री शर्मा विरुद्ध आरोप लागेपछि उनले संसदमा यस्ताे बताएका हुन् ।

अर्थमन्त्री शर्माले आज प्रतिनिधि सभा बैठकमा बजेटमाथि उठेका प्रश्नबारे जवाफ दिने क्रममा करका दर हेरफेर गरेर बजेटमा राष्ट्रघात र गद्दारी नभएको बताए ।

‘अहिलेको बजेटमा न राष्ट्रघात गरेको छ न गद्दारी गरेको छ,’ उनले भने, ‘एउटा प्रक्रियामा गएर बजेट निर्माण गरेको हो। करको दरलाई लिएर जुन मुद्दा बनाइएको छ यो राजनीतिक कुरा होइन अराजनीतिक कुरा हो।’

‘कुनै गोपनीयता भंग गरिएको छैन। अब त्यहाँ अर्थमन्त्रीले बसेर हेर्नेकुरा पनि होइन। सम्बन्धित तहका कर्मचारीले बजेट बनाउने हो,’ उनले भने, ‘म जवाफदेही छु, जिम्मेवार छु’ ।