कमिशनको चक्करः ७ सयमा पाइने हतियार ३ हजार युरोमा किन्दै सरकार

काठमाडौं । आर्थिक मन्दीका कारण देश नै श्रीलंकाको बाटोमा जान लागेको भन्दै उद्योगी व्यापारी तथा सर्वसाधरणमाथि कडाई गरेको सरकारले आफू भने कमिशनको चक्करमा हतियार खरिद गर्नेमा लागेको छ । त्यो पनि ७ सय युरोमा पाइने हतियार ३ हजार युरो भन्दा बढी मूल्यमा ल्याउन लागेको पाइएको छ ।

सरकारले नेपाल प्रहरीका लागि इटालीको बेर्रेटा कम्पनीमा बनेको हतियार खरिद गर्न चलनचल्तीको मूल्यभन्दा चार गुणा बढीमा ‘बुक’ गरिसकेको छ ।
बेर्रेटा कम्पनीबाट उत्पादित १२ बोरका बन्दुक र ९ एमएमको पेस्तोल खरिद गर्न लागिएको हो। सो कम्पनीबाट उत्पादित एउटा हतियारको ७ सयदेखि ८ सय युरो पर्ने भए पनि नेपाल सरकारले ३ हजार २ सय युरोमा बुक गरेको छ। यो लागत मूल्यभन्दा झन्डै चार गुणा बढी हो। १२ बोरका बन्दुक चलाउन नेपाल प्रहरीले १० वर्षअघि नै बन्द गरेको भए पनि सोही खालको हतियार ५० हजार केजी बुक गरिएको हो।

करिब १ अर्ब ३५ करोडको हतियार किन्न ग्लोबल टेन्डर आह्वान गर्नुपर्नेमा त्यो पनि गरिएको छैन । हतियार किन्दा नेपाल प्रहरीको आवश्यकताभन्दा पनि राजनीतिक दबाब र बिचौलियाहरूको आवश्यकतालाई ध्यान दिइएको बताइएको छ । त्यसमा पनि विवादित व्यापारी दिपक भट्टले खरिदको चाजो पाजो मिलाइरहेको जनाइएको छ । भट्टमाथि अर्थमन्त्रालयमा करको दर हेरफेर गर्नेमा पनि संलग्न रहेको आरोप छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।