धरहरा निर्माणमा भ्रष्टाचारः कस्ले खायो ३१ लाख ६० हजार ?

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा राष्ट्रिय पुननिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली थिए भने निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओली थिए । जतिबेला प्राधिकरणले धरहरा पुननिर्माण गरिरहेको थियो– सोही अवधीमा ३१ लाख ६० हजार र त्यसबापतको करको दुरुपयोग भएको खुलेको छ ।

भुकम्पबाट क्षतिग्रस्त बनेको ऐतिहासिक सम्पदा धरहराको पुनर्निर्माणका क्रममा तोकिएको भन्दा बढी भुक्तानी गरेर भ्रष्टाचार गरिएको हो । कतिपयले निर्माण कम्पनीलाई तोकिए भन्दा बढी रकम भुक्तानी दिएर पछि कमिशनबापत फिर्ता गर्न लगाएको हुन सक्ने अनुमान गरिएको छ । त्यसमा सिइओ ज्ञवाली र तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको समेत मिलेमतो हुनसक्ने सम्भावना देखिएको छ ।

धराहरामा निर्माणमा व्यवसायीलाई बिल रकमको मूल्य अभिवृद्धि भुक्तानी खर्च लेख्नुपर्नेमा फरक फ्याक्टर प्रयोग गरी बढी भुक्तानी गरेको पाइएको हो । प्राधिकरणकै नेतृत्वमा पुननिर्माणका क्रममा बढी भुक्तानी भएको पाइएको हो ।

महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदनले ३१ लाख ६० हजार र सोको मूल्य अभिवृद्धि कर ४ लाख ११ हजार गरी ३५ लाख ७० हजार रुपैयाँ निर्माण व्यवसायीबाट असुल गर्नु पर्ने देखिएको औंल्याएको छ ।

प्रतिवेदन अनुसार मन्त्रिपरिषदको २०७७ माघ ११ को निर्णयमा निर्माणको समयावधि थप भएबापत नेपाल सरकारलाई समय थप भएको अवधिमा कुनै आर्थिक व्ययभार नहुने उल्लेख छ । सोही आधारमा पुनर्निर्माण प्राधिकरणले धरहरा निर्माणमा २०७७ असोज २० देखि २०७८ पुस १५ गतेसम्म पटक/पटक म्याद थप गरेको प्रतिवेदनमा भनिएको छ । प्रतिवेदन अनुसार सार्वजनिक खरिद ऐन २०६३ को दफा ५५ (२) मा खरिद सम्झौता प्राप्त गर्नेको ढिलाइका कारण सम्झौताबमोजिम उल्लेखित अवधिभित्र सम्पन्न नभई बढी समय लागेमा मूल्यवृद्धि भुक्तानी नहुने उल्लेख छ । जसको ठेक्का २०७५ असोज १४ मा २०७७ असोज १४ भित्र सम्पन्न गर्नेगरी भएको थियो ।

ओलीको दबाबमा ५० प्रतिशत बन्ने क्रममा नै उदघाटन

तत्कालिन प्रधानमन्त्री ओलीको दबाबमा धराहराको करिब ५० पतिशत पुननिर्माण भएकै अवस्थामा उदघान गरिएको पाइएको छ । भौतिक प्रगति आधा मात्र सम्पन्न भएको अवस्थामा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको मुख्य भागको उदघाटन गरेका थिए । उनी नेतृत्वको सरकार ढल्ने अवस्था सिर्जना भएपछि हतारमा धराहराको उदघाटन गरिएको थियो । जतिबेला नै दबाब दिएर धरहराको उदघाटन गर्न लगाइएको चर्चा चुलिएको थियो ।
महालेखाले २० औं रनिङ बिलसम्म १ अर्ब ७४ करोड ८७ लाख र मोबिलइजेशन पेश्की ६१ करोड १७ लाख तथा मूल्य वृद्धिबापत ७ करोड ५२ लाख भुक्तानी भएकोमा भौतिक प्रगति ५०.२२ प्रतिशत रहेको थियो । सोही अवधीमा तत्कालिन पधानमन्त्रीले धरहराको उदघाटन गरेका थिए ।
महालेखाले धरहराको मुख्य भाग समुदघाटन भैसके तापनि धरहरासँगै निर्माण हने पार्किङ स्थल, भुकम्प संग्राहलय, बगैंचा तथा सौन्दर्यीकरण लगायतका निर्माण कार्यक्रम अपेक्षाकृत प्रगति नभएको ठहर समेत गरेको छ ।

अझै छैन सञ्चालन

तत्कालिन प्रधानमन्त्री ओलीले समुदघाटन गरेको धराहरा अझै सञ्चालनमा आउन सकेको छैन । हतारमा पुननिर्माण सम्पन्न नहुँदै उदघाटन गर्दा उदघाटनको वर्ष दिन नाघ्दा पनि सञ्चालनमा आउन सकेको छैन । अहिले धराहरा पुननिर्माणको काम धमाधम भइरहेको छ ।