कोरोनाका कारण तीन वर्षयता निर्यात ठप्प र आयात प्रभावित भइरहेका उत्तरी रसुवागढी र तातोपानी नाका फेरि बन्द भएका छन् । तिब्बत क्षेत्रमा कोरोना संक्रमण फेरि बढेपछि चीनले आइतबारदेखि रसुवागढी नाकाबाट हुने निर्यात रोकेको थियो भने बुधबारदेखि तातोपानीबाट हुने आयात पनि रोकेको छ ।
रसुवागढी नाकाबाट शनिबार बिहानसम्म सामान लोड भएका कन्टेनर नेपाल आएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीले बताए । ‘आइतबारदेखि नाकाबाट कन्टेनर आएका छैनन्, आयात ठप्प छ,’ उनले भने, ‘रसुवागढी नाकाबाट चीनतर्फ निर्यात नभएको भने ३० महिना भयो । मानिसको आवतजावत पनि बन्द छ ।’ चिनियाँ पक्षबाट आयात रोकेका विषयमा कुनै औपचारिक जानकारी भने नआएको मैनालीले जनाए । तिब्बततर्फ कोरोना संक्रमण देखिएको अपुष्ट जानकारी आएको उनको भनाइ छ । – कान्तिपुर