काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई निर्वाचनपछि समाजवादी केन्द्र बनाउने रणनीतिसहित साझा चुनाव चिह्न र घोषणापत्रसहित प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा भाग लिने सहमतिनजिक पुगेका छन् । दुवै दलले आ–आफ्नो पार्टीमा छलफल गरेर यसलाई औपचारिक रूपमा टुंग्याउने गृहकार्य भइरहेको नेताहरूले बताएका छन् ।
दाहालले नेपाल समाजवादी पार्टीसँग साझा चुनाव चिह्न र घोषणापत्रमा निर्वाचन लड्ने सहमति भएको र आ–आफ्नो पार्टीमा सहमति जुटाएर औपचारिक रूपमा टुंग्याउन लागिएको ‘ब्रिफिङ’ निकट नेताहरूसँग गरेका छन् । यो र अन्य विषयमा छलफल गर्न अध्यक्ष दाहालले पार्टी स्थायी कमिटी बैठक बोलाउने तयारी गरेका छन् । साझा चुनाव चिह्नका लागि निवेदन दिने विषय टुंगिन बाँकी रहेकाले माओवादी केन्द्र र नेपाल समाजवादी पाटीले अझै निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छैनन् ।
अध्यक्ष दाहालले निकट नेताहरूलाई बताएअनुसार एक–दुई दिनै संयुक्त चिह्नमा निर्वाचन लड्न निर्वाचन आयोगमा निवेदन दिने तयारी छ । निर्वाचन आयोगले साउन २२ देखि ३१ गतेसम्म दल दर्ताको समय दिएको छ । मंसिर ४ मा प्रतिनिधि एवं प्रदेशसभा निर्वाचन हुँदै छ । ०७४ मा एमाले र माओवादी केन्द्रले पछि पार्टी एकता गर्ने सहमतिसहित वाम गठबन्धन बनाएर आ–आफ्नो दलको चिह्नमा निर्वाचन लडेका थिए । माओवादी नेता वर्षमान पुनले भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी साझा चुनाव चिह्नमा निर्वाचन लड्न करिब सहमत भएको बताए ।






