Monday, August 3, 2026
Home मुख्य समाचार भारतलाई हराउँदै नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा

भारतलाई हराउँदै नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा

नेपाल छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । यसअघिका पाँचवटै संस्करणको विजेता भारतलाई हराउँदै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाउन सफल भएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा केही बेर अघि सम्पन्न सेमिफाइनलमा नेपालले भारतलाई १–० गोलअन्तरले पराजित गरेको हो । नेपालले महिला साफ च्याम्पियनसिपमा पहिलो पटक भारतलाई पराजित गरेको हो । मध्यान्तर अघिको खेलमा गरेको गोल नै नेपालका लागि निर्णायक बन्यो । पहिलो हाफको इन्जुरी समयमा नेपालका लागि रश्मीकुमारी घिसिङले गोल गरेकी हुन् । मध्यान्तरपछिको खेलमा नेपाल र भारतका तर्फबाट गोल गर्ने प्रयास भएका थिए । दुवै टोलीले गोल गर्न नसक्दा पहिलो हाफमा गरेको एक मात्र गोलको मद्दतमा नेपाल फाइनलमा पुग्न सफल भयो ।

नेपाली टोलीको कप्तानी एन्जिला तुम्बाप्पो सुब्बाले गरेकी थिइन् । नेपाली टोलीकी मुख्य खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ डेङ्गुका कारण खेल्न सकिनन् । नेपालले फाइनल खेल सोमबार बङ्गलादेशसँग खेल्ने छ । यसअघि आजै सम्पन्न पहिलो सेमिफाइनल खेलमा भुटानलाई ८–० गोलअन्तरले हराउँदै बङ्गलादेश फाइनलमा प्रवेश गरेको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।