सर्वोच्चमा फेरि ताण्डव, महासचिवको पत्र बोकेर छिर्न खोज्दै जबरा

काठमाडौं २१ मंसिर । सर्वोच्च अदालतमा निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको विषयलाई लिएर फेरि ताण्डव सुरु भएको छ ।

संसद सचिवालयका महासचिव भरतराज गौतमले जबराको निलम्बन निष्क्रिय भएको भन्दै विभिन्न निकायमा पत्राचार गरेपछि जबरा त्यहीँ पत्रको आधारमा सर्वोच्च छिर्ने तयारी गरिरहेका छन् ।

कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले भने महासचिवको पत्र असंवैधानिक भन्दै आन्दोलनमा उत्रिएको छ । बारको नेतृत्वमा अहिले जबरालाई सर्वोच्च छिर्न नदिनका लागि गेटमा धर्ना सुरु भएको छ ।

जबराले मंगलबार मात्रै संसद सचिवालयमा निवेदन दिएका थिए । त्यसको प्रतिउत्तरमा संघीय संसदका महासचिव डा। गौतमले निलम्बन फुकुवा गरिदिएका हुन् । गौतमले बुधबार (आज) राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, संवैधानिक परिषद, सर्वोच्च अदालत, न्यायपरिषद र जबरालाई पत्र पठाएर १ फागुन २०७८ मा जबराले कार्य सम्पादन गर्न नपाउने भनी लेखेको पत्र निष्प्रभावी भएको जानकारी दिएका हुन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।