काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा भाडाको घरमा सर्न लागेका छन् ।

प्रधानमन्त्रीबाट पदमुक्त भएपछि उनी धुम्बाराहीस्थित भाडाको घरमा सर्न लागेका हुन् । बुढानीलकण्ठस्थित देउवाको निवासमा हाल निर्माण कार्य भइरहेकाले उनी भाडाको घरमा सर्न लागेका उनको सचिवालयले जनाएको छ ।

उनले सरकारी निवास बुधबार विहान छाड्दैछन् । बुढानीलकण्ठको घर निर्माण सकिन ३÷४ महिना लाग्ने जनाइएको छ । निजी निवासमा सर्न अहिले सम्भव नभएपछि अहिलेका लागि भाडाको घर खोजिएको हो ।

१० पुसमा नै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा पदमुक्त भएका थिए । तर उनी तत्कालै बुढानीलकण्ठस्थित निवासमा सर्न सक्ने अवस्था नभएकाले भाडाको घर खोजिरहेका थिए । त्यसैले बालुवाटारबाट सर्न केही दिन लागेको सचिवालयको भनाइ छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।