काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका आन्तरिक टर्मिनल व्यवस्थापना शाखा प्रमुख पूर्णप्रसाद चुडाललाई सोमबार पक्राउ गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा घुस लिएर प्रवेश पास बनाइने उजुरी अख्तियारमा पुगेपछि अख्तियारले अनुसन्धान प्रक्रिया थालेको थियो । अख्तियारको योजना अनुसार नै सोमबार एक जना सेवाग्राही चुडाल कहाँ प्रवेश पास बनाइदिन भन्दै पुगे ।
विमानस्थलको आन्तरिक टर्मिनलसम्म आवतजावत गर्न सहजीकरण गर्ने गरी पास बनाइदिन उनले प्रतिमहिना १० हजार रुपैयाँका दरले २०७८ कात्तिकदेखि १५ महिनाको एकमुष्ठ रकम एक लाख ५० हजार रुपैयाँ मागेका थिए । सोही रकम बोकेर ती सेवाग्राही चुडालको पुगेका थिए ।
अख्तियारको टोली चुडालको कार्यकक्षमा पुग्दा भने उक्त रकम भेटिएन । तर, नजिकै रहेको दराजको चाबी फुटाउँदा दराजभित्र ८ लाख रुपैयाँ नगद, ९ बोतल ब्राण्डेड रक्सी र चार वटा मोबाइल फोन बरामद भयो । अख्तियारले टिपाएका नम्बरसँग भने उक्त रकम मिलेको छैन । तर ८ लाख रुपैयाँको स्रोत चुडालले खुलाउन सकेका छैनन् । घुसवापतको रकम कसरी गायब भयो भन्ने विषयमा अख्तियारले अझै अनुसन्धान जारी राखेको छ । चुडाल अहिले पनि अख्तियारको नियन्त्रणमा छन् ।








