काठमाडौँ — उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गरेर प्राध्यापक राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा ६ सदस्यीय सुशासन सुधार सुझाव कार्यदल गठन गरेका छन् । कार्यदलमा पूर्व सचिवहरू पूर्णचन्द्र भट्टराई, रामकृष्ण सापकोटा, हरि बस्याल तथा विषय विज्ञका रूपमा लिना गुरुङ सदस्य छन् ।

कार्यदलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सु.ई. अर्जुनप्रसाद अर्याल सदस्य सचिव छन् । कार्यदललाई मन्त्रालयको कार्य जिम्मेवारीभित्रका सडक पूर्वाधार, सडक पुल, रेल्वे सेवा, यातायात क्षेत्र व्यवस्थापन तथा इन्जिनियरिङ सेवा व्यवस्थापन (इन्जिनियरिङ काउन्सिल) समेतको कार्यविधिमा रही सुझाव प्रतिवेदन पेस गर्न भनिएको छ । कार्यदलको अवधि एक महिनाको छ ।

सेवा प्रवाहलाई चुस्त दुरुस्त, सेवाग्राही मैत्री, प्रभावकारी, सुशासनमैत्री तथा अनियमितता, भ्रष्टाचार, चुहावट, मिलेमतो अन्त्यका लागि शून्य सहनशील हुन अवलम्बन गर्नुपर्ने नीतिगत, कार्य प्रक्रियागत र संस्थागत सुधारका विषयहरू प्रस्तुत गर्ने म्याण्डेट कार्यदललाई दिइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।