काठमाडौँ — कांग्रेस नेतृत्वको आठदलीय गठबन्धनसँग स्पष्ट बहुमत भए पनि एमालेले राष्ट्रपति निर्वाचनमा उम्मेदवार उठाएको छ । कांग्रेसले पुष्पकमल दाहाल सरकारलाई विश्वासको मत दिएपछि ‘ढोक्सा’ थापेको अभिव्यक्ति दिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष नेम्वाङलाई उम्मेदवार बनाएर अर्को ढोक्सा थापेका छन् ।

उम्मेदवारी दिएलगत्तै एमालेबाट अलग भएका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पत्र लेखेर ओलीले निर्वाचनमा सघाउन आग्रह गरेका छन् । एकीकृत समाजवादी उपमहासचिव जगन्नाथ खतिवडाले पत्र लखेकामा धन्यवाद दिँदै मत दिने स्थिति नभएको प्रतिक्रिया दिएका छन् । ‘पत्रले औपचारिक रूपमा राजनीतिक संवादको ढोका खोलेको छ, राष्ट्रपति निर्वाचनको सन्दर्भमा समय निकै अगाडि बढिसकेको हुँदा एमालेको अनुरोधलाई स्वीकार गर्ने स्थिति नभए तापनि सकारात्मक सोचका साथ राजनीतिक संवादको वातावरण निरन्तर रहिरहेमा एजेन्डाअनुसार सहकार्य हुन सक्छ,’ उनले भनेका छन् ।

एमालेले निर्वाचन मतभार प्रतिकूल भए पनि नेम्वाङलाई उम्मेदवार उठाएर राष्ट्रपति निर्वाचन एकपक्षीय हुनबाट रोकेको छ । आठ राजनीतिक दलले कांग्रेसका उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेललाई सघाउने निर्णय गरेसँगै फागुन २५ मा हुने निर्वाचन एकपक्षीय हुने अनुमान गरिँदै आएको थियो ।

नेम्वाङ २०६२/६३ को जनआन्दोलनपछि पुनःस्थापित संसद् र माओवादी शान्ति प्रक्रियामा आएपछि व्यवस्थापिका संसद्को सभामुख, पहिलो र दोस्रो संविधानसभा अध्यक्ष भइसकेका नेता हुन् । लामो समयदेखि संसद्मा उनले एमालेका तर्फबाट महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । २०५१ सालमा बनेको एमालेको पहिलो अल्पमतको सरकारमा उनी न्याय, कानुन तथा संसदीय मामिलामन्त्री थिए । ०७८ मंसिरमा चितवनमा भएको एमालेको दसौं राष्ट्रिय सम्मेलनबाट उनी उपाध्यक्षमा निर्वाचित भएका थिए ।

एमालेको शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको थियो । त्यसलगत्तै एमाले अध्यक्ष ओलीसहित ५ पदाधिकारीलाई प्रस्तावक र ५ सांसदलाई समर्थक राखेर नेम्वाङले नयाँ बानेश्वरस्थित संसद् भवनमा स्थापना गरिएको निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराए । ओलीका अतिरिक्त एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिवहरू गोकर्णराज विष्ट, रघुवीर महासेठ र छविलाल विश्वकर्मा उनका प्रस्तावक छन् भने सचिवहरू योगेश भट्टराई, टोपबहादुर रायमाझी, सांसदहरू जुली महतो, दिलकुमारी रावल र अमनकुमार मास्के समर्थक छन् ।

सचिव भट्टराईले प्रतिकूलतालाई अनुकूलतामा बदल्न सक्ने क्षमता भएका कारण एमालेले राष्ट्रपति हुन योग्य व्यक्तिलाई उम्मेदवार बनाएको बताए । ‘एमाले प्रतिकूलतालाई अनुकूलतामा बदल्ने क्षमता राख्छ,’ उनले कान्तिपुरसँग भने, ‘हामीले खेलाँचीमा नभई जित्नका लागि उम्मेदवार उठाएका हौं । योग्य व्यक्तिलाई राष्ट्रपति चयन गराउनका लागि उम्मेदवार बनाएका हौं ।’

एमालेसँग नजिक रहेका ठानिएका राप्रपा र रास्वपाले राष्ट्रपति निर्वाचनमा कुन उम्मेदवारलाई सघाउने भन्ने विषयमा मुख खोलेका छैनन् । -कान्तिपुरबाट

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।