काठमाडौं : फेसबुकको भाउ कम्पनी ‘मेटा’ ले सन् २०२३ मा थप १० हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । यससँगै, गहिरो आर्थिक मन्दीको सामना गर्ने उपायस्वरुप कर्मचारी कटौतीको दोस्रो चरणको घोषणा गर्ने मेटा पहिलो ठूलो प्रविधि कम्पनी बनेको छ । कर्मचारी कटौती गर्ने घोषणापछि मेटाको सेयर भाउ मंगलबार ७.२५% ले बढेर १९४ डलर पुगेको थियो ।

कर्मचारी कटौती कम्पनी पुनर्संरचनाको एक हिस्सा भएको रोयटर्सले उल्लेख गरेको छ । जसअन्तर्गत कम्पनीको कर्मचारी भर्ती गर्ने योजना खारेज हुनेछ भने कम प्राथमिकताका परियोजनाहरु बन्द गर्नेछ । यसका साथै, मध्यम तहका व्यवस्थापनहरु हटाउनेछ । यसअघि गत नोभेम्बरमा पनि मेटाले ११ हजार कर्मचारी अर्थात आफ्ना कुल कर्मचारीहरुमध्ये १३% लाई कामबाट हटाएको थियो ।

बढ्दो ब्याजदरका कारण आर्थिक मन्दीको चिन्ताले हालैका महिनाहरुमा अमेरिकी कर्पोरेटहरुले ठूलो संख्यामा रोजगारी कटौती गरेका छन् । साथै, कर्मचारी कटौतीको क्रम जारी नै रहेको छ । सन् २०२२ को सुरुवातयता प्रविधि कम्पनीहरुले मात्रै २ लाख ९० हजार भन्दा बढी कामदारहरुलाई कामबाट हटाएको एक तथ्यांकले देखाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।