काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न आफूहरु अहिलेकै गठबन्धनको निरन्तरताको पक्षमा रहेको बताए । सरकार परिवर्तन गर्ने हल्ला चलाएर कसैको पनि हित नहुने भन्दै उनले गठबन्धनमा केही गल्ती भए सच्याएर अघि बढ्नुपर्ने तर स्थिरता कायम गर्नुपर्ने बताए ।

रफ्त सञ्चार क्लवले शनिबार भक्तपुरमा गरेको एक कार्यक्रममा उनले भने, ‘दिनैपिच्छे सरकार परिवर्तन हुने हल्ला चलाएर कसैको हित हुँदैन । र, दिनैपिच्छे सरकार परिवर्तन गरिराख्नु पनि गलत हो । गल्ती कहाँ छ त्यहाँ सच्याएर अघि बढने बेला हो ।’

मुलुकलाई सम्भावित संकटबाट जोगाउने जिम्मा अहिलेको सत्ता गठबन्धनको हो भन्दै उनले त्यसका लागि सरकार स्थिर रहन आवश्यक भएको बताए ।

‘सरकार स्थिर भएर काम गर्नुपर्छ । र, जनतालाई डेलिभरि दिनुपर्छ । अब पहिलाको जस्तो भनेर मात्रै हुँदैन, गरेरै देखाउनुपर्छ । र, मुलुकलाई सम्भावित संकटबाट जोगाउने महत्वपूर्ण अभिभारा अहिलेको सरकारको रहेको छ । त्यसैले हाम्रो राय पनि सरकारको स्थिरता, राजनीतिक स्थिरता आवश्यक हो’ अध्यक्ष यादवले भने ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।