काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारको फाइल खोल्न बल्ल सुरु भएको बताउँदै थप फाइल अझै खुल्ने दाबी गरेका छन् ।

दलित मुक्ति मोर्चाको अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले केही दिन अगाडि मात्र भ्रष्टाचारहरुको फाइल खोलिन्छ भनेको स्मरण गराउँदै यो ट्रेलर मात्र भएको र सिङ्गै फिल्म आउन बाँकी रहेको बताएका हुन् । उनले अब सरकारलाई घेराबन्दी हुने, धम्की आउने बताउँदै श्रमजीवी समुदायको साथ भए त्यसको सामना गर्न सकिने धारणा राखे ।

एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीसँग सिंहदरबारमा भेटेर कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री प्रचण्डले देशमा संस्थागत भ्रष्टाचार भइरहेको र त्यसलाई समाप्त पार्न आफू लागि परेको जिकिर गरे । त्यसमा सबैको साथ सहयोग आवश्यक रहेको उनको भनाई थियो ।

गलत नीति र गलत संस्कार तथा संस्थागत भ्रष्टाचारका कारण देशको आर्थिक अवस्था त्यति राम्रो नरहेको बताउँदै उनले त्यसलाई सुधार गर्नका लागि प्रयास भइरहेको बताए । प्रधानमन्त्री प्रचण्डले प्रतिक्रान्ति, भ्रष्टाचार, प्रतिगमन विरुद्ध विशाल सडक आन्दोलन गर्ने चेतावनी पनि दिए ।

‘प्रतिनिधिसभा दुई–दुई पटक विघटन गरिएको थियो । त्यो संसद् विघटन थिएन, संविधान विघटन थियो,’ प्रधानमन्त्रीले प्रचण्डले भने, ‘त्यसको विरुद्धमा विशाल आन्दोलन गरेर त्यसलाई समाप्त पार्‍यौँ ।’ उनले थपे, ‘त्यतिबेला सरकारमा हुनेहरुले र भुटानी शरणार्थी बनाएर बेच्ने मान्छे मध्येकाहरुले बडो व्यङ्ग्य कसेर ‘हरे प्रचण्डको हालत हेर त । चिसो बाटोमा पुसमा बसेको छ प्रचण्डको हालत त यस्तो अवस्थामा पो पुग्यो’ भन्थे। सम्झिनुभाको छ तपाईंहरुले ? त्यसको केही समयपछि एकपटक हैन, तीन पटक काठमाडौँमा लाखौँ जनता आइसकेपछि उनीहरूका प्रतिगमनका षड्यन्त्रहरू परास्त भए, नेपाली जनता फेरी विजयी भए, हामी फेरी विजयी भयौँ ।’

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।