काठमाडौँ — भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्री, सचिव र तत्कालीन मन्त्रीका सल्लाहकारले गिरोहबाट मोटो रकम बुझेको तथ्य प्रहरी अनुसन्धानबाट खुलेको छ ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार उनीहरूले गिरोहका नाइके केशव दुलाल र सानु भण्डारीमार्फत ‘गिफ्ट’ भन्दै रकम बुझेका थिए । अहिलेसम्म प्राप्त तथ्य प्रमाणले खुलेको भन्दा आरोपितहरूले बढी रकम लिएको हुनसक्ने प्रहरी अधिकारीहरूको भनाइ छ ।
पूर्वउपप्रधानमन्त्री एवं एमाले सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाण, उनका तत्कालीन प्रमुख स्वकीय सचिव नरेन्द्र केसी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, तत्कालीन गृहमन्त्री थापाका छोरा (स्वकीय सचिवसमेत) ले गिरोहबाट रकम बुझेको खुलेको प्रहरीको भनाइ छ । तीमध्ये हाल प्रतीक फरार छन् ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजना फत्ते गर्न गिरोहका सदस्यले उनीहरूलाई मोटो रकम बुझाएका हुन् । ‘अनुसन्धानबाट प्राप्त सबुत प्रमाण र तथ्यले नक्कली शरणार्थी बनाउने धन्दामा काम गर्ने ग्यारेन्टी गरेर रकम लिएको देखिन्छ,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘प्राप्त तथ्य र प्रमाणलाई आधार बनाएर अनुसन्धान प्रतिवेदन बनाउने तयारी छ ।’
प्रहरी अधिकारीका अनुसार यस प्रकरणमा गिरोहबाट सबैभन्दा बढी रकम बुझ्नेमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार राई देखिएका छन् । उनले ५ करोडभन्दा बढी नगद बुझेको तथ्य प्रहरीले संकलन गरेको छ । यस्तै तत्कालीन गृहमन्त्री खाणले १ करोड २३ लाख ५० हजार रुपैयाँ ‘गिफ्ट’ बुझेको भेटिएको छ । उनका स्वकीय सचिव केसीले ५ लाख बुझेको खुलेको छ । केसीले पैसा बुझेको विवरण सचिव पाण्डेको मोबाइलबाट खुलेको हो । तत्कालीन गृहसचिव (हाल प्रधानमन्त्री कार्यालय) पाण्डेले ५० लाख लिएको फेला परेको छ । तत्कालीन गृहमन्त्री थापाका छोरा प्रतीकले १ करोड बुझेको प्रमाण भेटिएको स्रोतले जनाएको छ ।
शरणार्थी प्रकरणमा सुरुदेखिकै मुख्य पात्रका रूपमा देखिएका पूर्वउपप्रधानमन्त्री एवं एमाले सांसद रायमाझीले किस्ता–किस्तामा गरेर ३ करोड बुझेको प्रमाण रहेको प्रहरीले जनाएको छ । उनका छोरा सन्दीपको बैंक खातामा ४० लाख भेटिएको छ । स्रोतका अनुसार गिरोहका नाइके भण्डारीले पूर्वउपप्रधानमन्त्री रायमाझीसँग पैसाको डिल गरेको देखिन्छ । त्यसरी प्राप्त भएको रकम उनले छोरा सन्दीपमार्फत व्यवस्थापन गरेको अनुसन्धानमा संलग्न प्रहरीका एक अधिकारीले बताए । गिरोहका नाइके भण्डारीले पूर्वउपप्रधानमन्त्री रायमाझीलाई ‘मामा’ भनेर सम्बोधन गर्थे । -कान्तिपुर