काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहका कारण दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ काठमाडौंमा प्रदर्शन रोकिएको छ । एक संवादका कारण विवादमा आएको उक्त चलचित्र सोमबारदेखि काठमाडौं महानगरपालिकाभित्र प्रदर्शन रोकिएको हो । बालेनले फिल्मको विवादित संवाद ‘जानकी भारतकी छोरी हुन्’ लाई फिल्मको मूल भागबाटै नहटाएसम्म काठमाडौंमा प्रदर्शन गर्न नदिने निर्णय गरेपछि फिल्म प्रदर्शक (हलवाला) ले पनि आजबाट फिल्मको प्रदर्शन स्थगित गरेका हुन् ।
आइतबार अपराह्न महानगर प्रमुख शाहले सोमबारदेखि महानगर क्षेत्रमा हिन्दी चलचित्र प्रदर्शनमा निषेध गरिएको बताउँदै स्टाटस लेखेका थिए । यसअघि उनले विवादास्पद उक्त संवाद नेपालमा मात्र नभई भारतमा पनि सच्याउनका लागि आइतबारसम्म ३ दिनका लागि अल्टिमेटम दिएका थिए । महानगर प्रमुख शाहले उक्त फिल्मको गलत संवादका कारण नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको दाबी गरेका छन् ।
महानगरको उक्त निर्णयपछि हलहरूको छाता संगठन चलचित्र संघले दर्शकको सुरक्षाका निम्ति सोमबारदेखि ‘आदिपुरुष’ को प्रदर्शन रोक्ने निर्णयमा पुगेको बताएको छ ।