काठमाडौं ४ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरेर बाहिर लैजादैं गरेको अवस्थामा एक क्विन्टल सुन बरामद गरिएको छ ।
राजश्व अनुसन्धान विभागले बुधबार भन्सार पार गराएको अवस्थामा सिनामंगलबाट एक सय किलो सुन बरामद गरेको हो । उक्त सुन ट्याक्सीमा विमानस्थलबाट बाहिर ल्याएको थियो ।
बुधबार दिउँसो २ बजे भन्सार जाँच पास भएर बाहिरिएको सुन विभागले ट्याक्सीबाट बरामद गरेको हो । विभागले सुन ल्याइएको बा २ ज २३२४ नम्बरको ट्याक्सी र चालकलाई पनि नियन्त्रणमा लिएको छ । हङकङबाट काठमाडौं आएको क्याथे एयरलाइन्सको विमानमा कार्गोमार्फत सुन आएको थियो । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर सुन ल्याएको पाइएको विभागका महानिर्देशक नवराज ढुंगाना बताएका छन् । यस विषयमा अनुसन्धान भइरहेको विभागले जनाएको छ ।