काठमाडौं । त्रिभुवन विश्वविद्यालयको चरम् लापरवाही फेरि पनि दोहोरिएको छ । देशकै ठूलो र पुरानो विश्वविद्यालयमा जिम्मेवारी पदाधिकारीको बेवास्ता र पटक पटक लापरबाही गर्दा उनीहरुमाथि कारबाही नहुँदा यस्ता घटना पटक पटक दोहोरिएका छन् ।

बीए दोस्रो वर्षअन्तर्गत ८ साउनमा ‘इन्ट्रोडक्सन टु टुरिजम डेभलपमेन्ट’ विषयको परीक्षामा त्रिविले अर्कै विषयको प्रश्नपत्र छापेर बाँडेको पाइएको हो । एक परीक्षार्थीका अनुसार, पाठ्यक्रमबाहिरको प्रश्नपत्र आएपछि परीक्षार्थी अन्यौलमा परेका थिए ।

भारतीय इतिहासबारे सोधिएको प्रश्न

यतिसम्म कि सोमबार मानविकी संकायअन्तर्गतको वार्षिक प्रणालीबाट सञ्चालन भएको उक्त परीक्षामा परीक्षा नियन्त्रण कार्यालयले पर्यटन विकास विषयको प्रश्नपत्रको साटो दिल्ली विश्वविद्यालयको प्रश्नपत्र वितरण गर्दा केही समय तनावग्रस्त जस्तै बन्न पुगेकाे थियाे ।

नेपालको पर्यटन विकासबारे अध्ययन गरेका विद्यार्थीलाई भारतीय इतिहासबारे सबै प्रश्न सोधिएको थियो। प्रश्नपत्रको माथिल्लो भागमा भने त्रिविको नाम नै समावेश गरिएको पाइएको छ । तर, प्रश्नपत्र भने भारतीय इतिहासबारे राखिएको थियो ।

परीक्षा हलमा केही समय हल्लाखल्लापछि सबैबाट प्रश्नपत्र लिइयो र करिब एक घण्टा लगाएर सम्बन्धित विषयको प्रश्नपत्र दिइएको थियो ।

एउटा विषयको परीक्षामा अर्कै विषयको प्रश्नपत्र वितरण भएको घट्ना टीयूको चरम लापरवाही भएको भन्दै धेरैले आलोचना गरेका छन् । यसअघि पनि टीयूबाट प्राविधिक तथा व्यावहारिक कमजोरी बारम्बार हुने गरेको छ । लापरबाहीको घटना दोहारिएपछि नेपाल विद्यार्थी संघ, अखिल नेपाल स्वतन्त्र विद्यार्थी संगठन लगायतका संघ संगठनले विरोध जनाएका छन् ।

*शीर्षक परिवर्तन गरिएकाे -सम्पादक ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।