काठमाडौँ । अब पुलिस रिपोर्ट प्रमाणीकरण घरबाटै गर्न सकिने भएको छ । यसअघि रिपोर्ट प्रमाणीकरणका लागि कन्सुलर सेवा विभाग धाइरहनु पर्ने झन्झट हटेको हो ।
विभागले प्रहरीले प्रदान गरेको चारित्रिक प्रमाणपत्र अनलाइनबाटै प्रमाणीकरण गरिदिने व्यवस्था गरेको हो । विभागले आइतबारदेखि सो सेवा सुरु गरेको छ । आइतबार विभागमा आयोजित एक कार्यक्रमकाबीच परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले अनलाइनबाटै पुलिस रिपोर्ट प्रमाणीकरण सेवाको शुभारम्भ गरे ।
विभागले सो सेवालाई अनलाइनबाट प्रवाह गर्ने भएपछि अब विभागमा दैनिक लाग्ने भीड कम हुने भएको छ । सेवा शुभारम्भ गर्दै परराष्ट्रमन्त्री साउदले सरकारले सबै खाले प्रशासनिक सेवामा नागरिकलाई सहजता प्रदान गर्न उद्धत रहेको बताए । उनले वर्तमान सरकार बनेपछि नागरिकलाई सेवा प्रवाह गर्ने विषयमा बदलाव आएको दाबी गरे ।
ुयहाँ पनि सेवाग्राहीको भीडभाड हुने अवस्था थियो । सानो कामका लागि पनि लामो समय लाइनमा बस्नुपर्ने अवस्था थियो । अब कम्तीमा प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरणकै लागि कन्सुलर विभाग धाइरहनुपर्दैन । यो सेवा हामीले अनलाइनबाट घरमै बसी बसी गर्न सकिने गरी प्रबन्ध गरेका छौं,ु उनले भने, ुयसले काठमाडौं बाहिरबाट आउने सेवाग्राहीको हकमा ठूलो आर्थिक भार घटाएको छ ।ु
विभागका अनुसार प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने सेवा सुरु भएपछि अब दैनिक करिब १६ सय सेवाग्राही प्रत्यक्ष लाभान्वित हुनेछन् ।