हिन्दु धर्मका लागि बन्दुक उठाउन आह्वान गर्ने धर्मगुरुलाई नेपाल ल्याउँदै चौधरी समूह

धीरेन्द्रकृष्ण शास्त्री

काठमाडौं २८ साउन । हिन्दु धर्मका लागि बन्दुक उठाउन आह्वान गर्ने र मुस्लिमलाई घर फिर्ता पठाउनुपर्ने जस्ता विवादित सार्वजनिक अभिव्यक्ति दिएर विवादकाे चर्चामा रहेका एक जना भारतीय धर्मगुरुलाई चौधरी समूहले नेपालमा रातो कार्पेट ओछ्याउन लागेको छ ।

चौधरी समूहले त्यस्ता विवादित व्यक्ति भारतको मध्य प्रदेशस्थित बागेश्वर धामका संस्थापक धीरेन्द्रकृष्ण शास्त्रीलाई पूर्वी नवलपरासीको दुम्कौलीमा रहेको शाश्वत धाममा ल्याउन लागेको हो ।
शास्त्रीलाई भारतमा नै हिंसा भड्काउनेमा लागेको अभियोग लाग्ने गरेको छ । उनले सबै हिन्दुलाई एक हुन र धर्म रक्षाका लागि हतियार उठाउन उनले सार्वजनिक अपिल नै गरेका छन् । हिन्दुको घरमाथि पत्थर चलाउनेको घरमाथि बुल्डोजर चलाउनुपर्ने अभिव्यक्ति दिएर उनले खास समुदायविरुद्ध उक्साउने प्रयाससमेत गरेका छन् ।

शास्त्रीले मुस्लिम समुदायलाई लक्ष्य गर्दै उनीहरूलाई घर फिर्ता पठाउनुपर्ने समेत जनाउने गरेका छन् । शास्त्रीले भूत–प्रेत हुने र त्यसको उपचार आफूले गर्दै आएको भनेर अन्धविश्वास पनि फैलाउने गरेका छन् ।

धार्मिक सहिष्णुता कायम रहेको र संविधानमा नै धर्मनिरपेक्ष घोषणा गरिएको मुलुकमा यस्ता विवादास्पद व्यक्तिलाई चौधरी समूहले नेपालमा ल्याउन लागेको हो । जबकी चौधरी समूह विनोद चौधरीको हो । उनी आफैं सत्तारूढ कंग्रेसका सांसद हुन् ।

सांसद विनोद चौधरीका छोरा तथा चौधरी ग्रुप एवं सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक वरुण चौधरीको निमन्त्रणामा शास्त्री आउन लागेका हुन् । शाश्वत धामका व्यवस्थापक अशोक घर्तीका अनुसार शास्त्रीले आगामी भदौ २, ३ र ४ मा कथा वाचन गर्नेछन् ।

शास्त्री भदौ १ मा नेपाल आएर पशुपतिनाथको दर्शनपछि नवलपुर पुग्ने तयारी रहेको कान्तिपुरले समाचारमा उल्लेख गरेको छ । उनी कथा वाचन अवधरिभर चौधरी ग्राम परिसरमै बस्नेछन् । उनको कथा वाचन समूह ५० देखि ६० जनासम्मको रहने जनाइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।