काठमाडौं २८ साउन । केही दिनदेखि लगातारको भारी वर्षाका कारण ३ वटा राजमार्ग ३ ठाउँमा अवरूद्ध भएको छ। विभिन्न सडक अन्तर्गत ३८ ठाउँमा एकतर्फीरूपमा सञ्चालन छ ।

पहिराले पटकपटक अवरूद्ध हुँदै आएको मुग्लिन-नारायणगढ सडकखण्ड भने अहिले निर्बाध सञ्चालनमा रहेको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ। त्यस ठाउँमा पनि शनिबार रातिदेखि नै पानी परेकाले पहिरो खस्ने जोखिम रहेकाले सावधानी अपनाएर यात्रा गर्न सडक डिभिजन कार्यालय भरतपुरले सतर्क गराएको छ।

सडक विभागका अनुसार अहिले तमोर करिडोरअन्तर्गत चतरा-मुलघाट-माझीटार-अमरापुरडाँडा-गणेशचोक जोड्ने सडक पाँचथरको माझिटारस्थित हेवा खोलामा अवरूद्ध रहेको छ।

यस्तै, कालिगण्डकी करिडोरअन्तर्गतको तानसेन-रिडी-कोरला सडक म्याग्दीको बैसरीमा अवरूद्ध रहेको विभागले बेवसाइटमार्फत् अद्यावधिक गरेको छ। रिडी-बालकोट-हंसपुर-प्युठान जोड्ने सडक सल्यानको अश्विनीमा अवरूद्ध रहेको पनि विभागले जानकारी दिएको छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।