काठमाडौं । सुनको भाउ आज तोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले बढेर १ लाख ११ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ७५० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, आइतबार छापावाल सुन १ लाख ११ हजार १०० रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १० हजार ५५० रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ भने लगातार दुई दिनदेखि स्थिर रहेको छ । सोमबार चाँदीको भाउ प्रतितोला १३ सय ७५ रुपैयाँ कायम रहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९१२.५९ डलरमा र चाँदी प्रतिऔंस २२.६ डलरमा कारोबार भइरहेको छ । नेपालमा मुख्यतयः अन्तर्राष्ट्रिय बजारमा कायम हुने भाउकै आधारमा मूल्य निर्धारण हुने गर्छ ।