काठमाडौँ — कक्षा १२ को परीक्षा दिएका कुल विद्यार्थीमध्ये करिब ५१ प्रतिशतमात्रैले स्नातक पढ्न पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार सार्वजनिक गरेको विद्यालय तहको अन्तिम परीक्षाको नतिजाअनुसार ५०.९१ प्रतिशत विद्यार्थी स्नातक तह पढ्न योग्य ठहरिए भने बाँकी ४९ प्रतिशत उच्च शिक्षा पढ्न अस्वीकृत भएका छन् ।
गत वैशाख २६ देखि जेठ ५ सम्म देशभर सञ्चालित परीक्षामा नियमिततर्फ ३ लाख ७२ हजार ६ सय ३७ जना विद्यार्थी सहभागी थिए । तीमध्ये १ लाख ८९ हजार ७ सय ११ जनालाई उच्च शिक्षामा भर्ना हुने बाटो खुलेको छ । १ लाख ८२ हजार ९ सय २६ जना अर्थात् ४९.०९ प्रतिशत नन्ग्रेडिङ (एनजी) मा परेर तत्काल उच्च शिक्षामा भर्ना हुन रोकिने भएका छन् । तर नन्ग्रेडिङमा परेकामध्ये पनि १ लाख २३ हजार ३ सय विद्यार्थीले भने असोज ६ र ७ गते हुने ग्रेड वृद्धि (पूरक वा मौका) परीक्षामा सहभागी हुन पाउने राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । ती विद्यार्थीले न्यूनतम ग्रेड प्राप्त गरे उच्च शिक्षामा भर्ना हुने बाटो उनीहरूलाई यसपालि नै ढिला गरी खुल्नेछ । असोजमा ग्रेड वृद्धि दिन पाउनेमध्ये ७९ हजार जना एउटामात्रै विषयमा एनजीमा परेका छन् ।
लेटर ग्रेडिङ निर्देशिकाअनुसार प्रत्येक विषयको सैद्धान्तिक (लिखित) तर्फ कम्तीमा ३५ प्रतिशत प्राप्तांक प्राप्त गरे मात्र विद्यार्थी स्नातक तहमा भर्ना हुन योग्य मानिन्छन् । ३५ प्रतिशत प्राप्तांक ल्याउन नसकेर दुई विषयसम्म एनजीमा परेका विद्यार्थीले भने ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने व्यवस्था छ । तीनभन्दा बढी विषयमा नन् एनजीमा सूचीकृत विद्यार्थीले भने अर्को वर्ष सम्बन्धित विषयको मात्रै परीक्षा दिन पाउने व्यवस्था छ । पुनः अर्को वर्ष ग्रेड वृद्धि परीक्षा दिनुपर्ने गरी उच्च शिक्षामा भर्ना हुन बाटो अवरुद्ध भएका विद्यार्थीको संख्या ५९ हजार ६ सय २६ जना छ । गत वर्ष यस्ता विद्यार्थी ५७ हजार मात्रै थिए । तीमध्ये यसपालि १४ हजारले मात्र ग्रेड वृद्धि परीक्षा दिए । आगामी असोजमा ग्रेड वृद्धि परीक्षामा सहभागी विद्यार्थीले पनि न्यूनतम ३५ प्रतिशत ग्रेड प्राप्त गर्न नसके उनीहरूको पनि स्नातकमा भर्ना हुने बाटो यसपालिलाई बन्द नै रहन्छ ।
गत वर्षभन्दा कक्षा १२ को परीक्षाको नतिजामा सामान्य सुधार भएको तथ्यांकले देखाउँछ । गत वर्ष ४८.१० प्रतिशत विद्यार्थी स्नातकमा भर्ना हुन योग्य भएका थिए । यस पटक ५०.९१ प्रतिशत विद्यार्थी स्नातकमा भर्ना हुन योग्य भएका हुन् । यस आधारमा २.८१ प्रतिशत बिन्दुले नतिजामा सुधार आएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जनाए । तर, कक्षा १२ को नतिजाको प्रगति ३ दशकदेखि उस्तै देखिन्छ । अहिलेसम्म सबैभन्दा राम्रो भनिएको नतिजा २०६४ सालको हो । उक्त वर्ष ५५ प्रतिशत विद्यार्थी स्नातक भर्ना हुन पाउने गरी सफल भएको तथ्यांकले देखाउँछ । उच्च माध्यमिक शिक्षा परिषद् स्थापना भएयता २०६२ सालमा सबैभन्दा खस्केको नतिजा आएको थियो । त्यतिबेला ३२ प्रतिशत विद्यार्थीमात्रै स्नातकमा भर्ना हुन स्वीकृत भएका थिए । ‘गत वर्षभन्दा प्रतिशतमा सामान्य सुधार देखिए पनि माथिल्लो ग्रेड प्राप्त गर्ने विद्यार्थीको संख्या बढेको छ । प्रश्नपत्र निर्माणदेखि उत्तरपुस्तिका परीक्षणमा एकरूपता ल्याउन मार्किङ स्किमको मापदण्ड प्रयोग गरेका छौं । धेरै नै परिवर्तन ल्याउन कक्षाकोठाभित्रको शिक्षण सिकाइमा नै सुधार गर्नुपर्छ,’ अध्यक्ष शर्माले भने ।