काठमाडौं १ साउन । भनिन्छ, सबैभन्दा नजिकको नाता रगतको सम्बन्धको हुन्छ, तर रुपन्देहीमा भने ठिक उल्टो भएको छ । त्यहाँ जीवित भाइको मृत्यु दर्ता गरेर दाजुले करोडौं रुपैयाँ बराबरको जग्गा हडपेको खुलासा भएको छ । यस्तो कार्यमा संलग्न रहेको आरोपमा रुपन्देहीको तिलोत्तमा ४ का इन्द्र कुमार कंडेल पक्राउ परेका छन् ।

उनले आफ्नै सहोदर भाइ बेदुरामको मृत्यु भएको भनी सरकारी कागजात तयार पारेर जग्गा बेचेको प्रहरीको अनुसन्धानमा खुलेको हो । जिल्ला प्रशाशन कार्यालयको सहकार्यमा पक्राउ परेका इन्द्रलाई लिखतसम्बन्धी कसुर अन्तर्गत अनुसन्धान अगाडि बढाइएको छ ।

प्रहरीका अनुसार रोजगारीका लागि भारतमा गएका बेदुरामको तिलोत्तमा–४ नयाँ मिलमामा २ कठ्ठा १२ धुर जग्गा थियो । उक्त जग्गा हडप्न इन्द्रले बौद्धिक अपांगता रहेको भाइको सैनामैनामा मृत्यु भएको भन्दै २०७८ भदौ १५ गते वडा कार्यालय पुगेर मृत्यु दर्ता गराएका थिए । श्रीमतीसहित २ सन्तान भएका बेदुरामले बिहे नै नगरेको विवरण पेस गरेका थिए । मृत्युको साक्षी सैनामैना रानीबगियाका पूर्णचन्द्र बस्याल, रीमा बस्याल, अजय कुमार न्यौपाने र धनीश्वरा न्यौपाने बसेका थिए । कंडेलले दिएको निवेदनमा चार जना व्यक्तिबाट सनाखत गराएपछि तत्कालीन वडा अध्यक्ष दिवाकर ढकालको रोहवरमा वडा सचिव काशिराम ज्ञवालीले २०७८ साल असोज २६ गते मृत्यु दर्ता प्रमाणपत्र दिएका थिए ।

भाइको मृत्यु दर्ता गरेपछि इन्द्रकुमारले जग्गा नामसारीको लागि पनि पाँच जनाबाट सनाखत गराएर वडा कार्यालयबाट सिफारिस गराएका थिए । मृत्यु दर्ता गर्दा र बेदुरामको नाममा रहेको जग्गा अन्यको नाममा गराउँदा समेत वडा कार्यालयले सरजीमिन गरेको थिएन । सरजीमिनबिन नै वडाअध्यक्ष दीवाकर ढकालको सिफारिसका आधारमा बेदुरामको नाममा रहेको तिलोत्तमा–४ को २ कठ्ठा १२ धुर जग्गा आफ्नो नाममा गरेका थिए ।

बेदुराम यही साउनमा फर्केर जग्गा जाँचबुझ गर्दा आफ्नो नामको जग्गा बेचिएको र आफ्नो मृत्यु प्रमाणपत्र बनिसकेको थाह पाएका थिए । मृतक भनिएका व्यक्ति वडा कार्यालयमा उपस्थित भएर बदर गर्न निवेदन दिएपछि वडासचिव काशिराज ज्ञवालीले कारबाही प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालयमा सिफारिस गरेका थिए । उक्त मुद्दा साउन १५ गते जिल्ला प्रशाशन कार्यालयमा दर्ता भएपछि अनुसन्धानका लागि प्रहरीमा पठाइएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।