सर्वसाधारणका लागि ८ वर्षपछि चीनको तातोपानी नाका खुला

काठमाडौं । उत्तरी तातोपानी नाका शुक्रबारदेखि खुला गरिएको छ । आठ वर्ष पाँच महिनापछि सर्वसाधारणका लागि यो नाका खुला भएको हो । भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने नाकाबाट सीमा क्षेत्र भोटेकोशीका ३० जना स्थानीयलाई चिनियाँ क्षेत्र प्रवेश गराएर मानव आवतजावत गराउँदै आज बिहान नाकाको उद्घाटन गरिएको हो ।

अध्यागमन कार्यालय कोदारीका अनुसार चिनियाँ क्षेत्र प्रवेशका लागि अध्यागमन कार्यालय कोदारीले शुक्रबारसम्म २ सय २७ निलो रंगको पास जारी गरेको छ । जुन पास सीमाबाट ३० किलोमिटर क्षेत्रभित्रका सिन्धुपाल्चोकबासी मितेरी पुल पारीका क्षेत्रमा जान पाउने छन् । सुरुमा ३० जना र अहिले पास जारी भएका २ सय २७ नेपाली चिनियाँ क्षेत्र प्रवेश गरेको जनाइएको छ ।

लामो समयपछि चिनियाँ क्षेत्र प्रवेश गर्न पाएपछि स्थानीय हर्षित देखिएका छन् । खासा व्यापारमा मात्रै निर्भर सीमाबासीलाई चिनियाँ क्षेत्र लिपिङपारी १५ वटा, रमिते र खासामा ५ वटा पसल सञ्चालन गरिएको छ ।स्थानीयले ती पसलमा गएर कपडा र घरायसी सामान किन्न पाउँछन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।