काठमाडौँ । ग्लेन म्याक्सवेलले एउटै खेलमा अविजित २०१ रन बनाउँदै अफगानिस्तालाई पराजित गर्न सफल भएका छन् । उनको कीर्तिमानी दोहोरो शतकको मद्दतले अफगानिस्तानलाई हराउँदै अस्ट्रेलियाले आईसीसी एकदिवसीय विश्वकपको सेमिफाइनलमा स्थान समेत पक्का गरेको छ । मंगलबार मुम्बईको वानखेडे स्टेडियममा म्याक्सवेलले २ सय १ रन बनाउँदै अस्ट्रेलियालाई ३ विकेटको रोमाञ्चक जीत दिलाएका हुन् ।
अफगानिस्तानले यसअघि र श्रीलंका, इङ्ल्यान्डजस्ता पूर्व विश्वविजेता टोलीलाई पराजित गरेको थियो । अफगानिस्तानले अष्ट्रेलियाको सात विकेट लिएर तनावमा राखेपनि एक्लो म्याक्सवेलसामु भने सिंगो टोली नतमस्तक बन्यो । ९१ रनमा ७ विकेट गुमाएको अस्ट्रेलियालाई म्याक्सवेलले अफगानिस्तानले प्रस्तुत गरेको २ सय ९२ को लक्ष्यसम्म पुर्याउन सफल भए ।
घाइते भए पनि मैदानमा टिकेका म्याक्सवेलले १२८ बलमा २१ चौका र १० छक्का हिर्काए । यो विश्वकपमा कुनै पनि ब्याट्सम्यानले बनाएको यो सबैभन्दा ठुलो व्यक्तिगत स्कोर हो भने विश्वकपमा अस्ट्रेलियाका लागि कुनै पनि खेलाडीले बनाएको सबैभन्दा उच्च स्कोर पनि हो । म्याक्सवेलले यसै विश्वकपमा उनले विश्वकपको सबैभन्दा चाँडो शतकको कीर्तिमान पनि बनाएका थिए ।
म्याक्सवेललाई कप्तान प्याट कमिन्सले ६८ बलमा १२ रन बनाउँदै अन्तिमसम्म साथ दिए । त्यसअघि मिचेल मार्सले २४ तथा डेभिड वार्नरले १८ र मार्नस लाबुसेनले १४ रन बनाएका थिए । विश्वकपमा अस्ट्रेलियाले पछ्याएको यो सबैभन्दा ठुलो स्कोर पनि हो ।
अफगानिस्तानका लागि नविन उल हक, अजमतुल्लाह ओमारजाइ र रासिद खानले २–२ विकेट लिए पनि म्याक्सवेललाई रोक्न सकेनन् । ८ खेलपछि अस्ट्रेलियाले १२ अङ्क बटुलेको छ । यता अस्ट्रेलियालाई हराएर सेमिफाइनलमा आफ्नो दाबेदारी सशक्त बनाउने अफगानिस्तानलाई भने ठुलो झट्का लागेको छ । ८ खेलपछि अफगानिस्तानको ८ अङ्क रहेको छ । नेट रन रेटको अनुसार टोली छैटौँ स्थानमा रहेको छ । यसअघि अफगानिस्तानले पाँच विकेट गुमाएर २९१ रन बनाएको थियो ।