काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजमा अविश्वास र अराजकता फैल्याउने प्रयास भइरहेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले सहकारी, लघुवित्त, बैंक ब्याज, व्यवसायीको कर्जासम्बन्धीका समस्या विगतमा विभिन्न कारणले पैदा भए पनि एकथरीले यो समस्या देखाएर राजनीतिक फाइदा उठाउने प्रयास गरिरहेको बताएका छन् ।
सिंहदरबारमा मंगलबार राजनीतिक दल, निजी क्षेत्र र सरोकारवाला निकायहरुसँग वर्तमान अर्थतन्त्रका समस्या समाधानबारेको छलफलमा बोल्दै उनले अर्थतन्त्रका कयौं सूचकहरु सकारात्मक रहे पनि अर्थतन्त्र दबाबमुक्त भने नरहेको बताए ।
उनले भने, ‘नेपालको अर्थतन्त्रको वर्तमान अवस्था के छ र अगाडि कसरी जाने भन्ने सन्दर्भमा सरकारले सोचिरहेको छ । गत सालबाट यहाँसम्म आउँदा अर्थतन्त्रका कयौं इण्डिकेटरहरु सकारात्मक देखिएका छन् तर अर्थतन्त्र दबाबमुक्त भयो भन्ने ठाउँमा अझै पुगेको छैन । त्यसकारण यसलाई हामीले गम्भीर विमर्शसहित समुचित निष्कर्षमा पुग्नुपर्ने आवश्यकता छ । धेरै चिन्तित हुनुपर्ने छैन भन्ने पनि छ अर्कोतिर धेरै नै गम्भीर स्थितिमा छौं भन्ने छ । सबै मिलेर यसको सामना नगर्ने हो भने संकट गहिरिँदै जानेछ ।’