काठमाडौँ — मंसिर महिनाका लागि १४ वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन्, पाँच वटाले स्थिर राखेका छन् भने एउटाले बढाएको छ । व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ९.६ प्रतिशत छ । गत कात्तिकको तुलनामा मंसिरमा निक्षेपको ब्याजदर ०.३५ प्रतिशत बिन्दुले घटेको हो । निक्षेपको ब्याज घटेसँगै बैंक तथा वित्तीय संस्थामा ऋण (कर्जा) को ब्याजदर पनि घटिरहेको तथ्यांकले देखाएको छ ।

निक्षेपको ब्याज घट्दा लागत (खर्च) घटेकाले बैंक तथा वित्तीय संस्थाको आधार दर (कर्जाको ब्याज निर्धारण गर्ने सूचक) घटेको छ । आधार दर घटेसँगै क्रमिक रूपमा ऋणको ब्याज पनि घटिरहेको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको सुरुदेखि नै वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको, अपेक्षाअनुसार ऋणको माग बढ्न नसकेको लगायत कारण बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याज घटाइरहेका छन् । यसको असरस्वरूप ऋणको ब्याजदर पनि घट्ने क्रममा रहेको जानकार बताउँछन् । कान्तिपुर

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।