काठमाडौं ९ मंसिर । प्यालेस्टाइनको अतिवादी समूह हमास र इजराइयलबीच अस्थायी युद्धबिरामपछि हमासको नियन्त्रणमा रहेकाहरु छुट्ने क्रम सुरु भएको छ । हमासले १३ जना इजरायली बन्धक छाडेको छ । त्यस्तै, १० जना थाई नागरिक र १ जना फिलिपिनो नागरिक पनि रिहा भएका छन् । उनीहरु अलग्गै सम्झौताका आधारमा रिहा भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
नेपाली १० जनासँगै कृषिमा कार्यरत ३२ जना थाई श्रमिक हमासको आक्रमणमा मारिएका थिए भने २३ जना बन्धक बनाइएका थिए । विपिनलाई पनि थाई श्रमिकसँगै बन्धक बनाएर लगिएको बताइएको छ । शुक्रबार थाई १० जना नागरिक छुट्ने क्रममा विपिन पनि छुटेको अनुमान गरिएको थियो । हालसम्म उनी छुटेको पुष्टि भएको छैन ।
इजरायलमा रहेका थप कैदीहरू रिहाइ गर्ने सर्तमा आफ्नो नियन्त्रणमा रहेका इजरायली सैनिकबाहेकका सर्वसाधारणलाई छोड्ने पक्षमा हमास देखिन्छ । आक्रमणका दिन हमास समूहले त्यहाँबाट इजरायली र अन्य देशका गरी २३९ जनालाई बन्दी बनाएर गजा लगेको थियो।
यता, इजरायलले पनि बन्दी रिहा सुरु गरेको छ । उसले ३९ जना प्यालेस्टाइनी कैदीबन्दी रिहा गरेको छ। रिहा हुनेमा २४ जना महिला र १५ जना किशोरकिशोरी रहेको एपीले उल्लेख गरेको छ।