काठमाडौं १० मंसिर । प्यालेस्टानी अतिवादी समूह हमास र इजरायलबीच युद्धबिरामसँगै दुवै पक्षबाट सम्झौता अनुसार बन्धक बनाइएकाहरु धमाधम रिहा भइरहेका छन् । हमासले शनिबार १३ जना इजरेली र चार जना थाई बन्धकहरू रिहा गरेको छ ।
यसैगरी शनिबार हमासले १३ जना इजरेली बन्धक छाडेको छ । सोही दिन १० जना थाई नागरिक र १ जना फिलिपिनो नागरिक पनि रिहा भए । रिहा भएका १० जना थाई नागरिक भने अलग्गै सम्झौता अनुसार रिहा भएकाे थाई प्रधानमन्त्रीले बताएका छन् । नेपाली १० जनासँगै कृषिमा कार्यरत ३२ जना थाई श्रमिक हमासको आक्रमणमा मारिएका थिए भने २३ जना बन्धक बनाइएका थिए ।
शनिबार रिहा भएका थाई नागरिकहरुसँगै नेपाली विपिन जोशी पनि अपहरणमा परेको बताइएको छ । सँगै लगिएका थाई रिहा हुँदा नेपालका विपिन जोशी भने रिहा भएनन् । नेपालले विपिनलाई रिहा गर्नका लागि कुटनीतिक पहल पनि अघि बढाएको हो ।
प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ ले विपिन जोशीको सकुशल रिहाइमा सघाउन कतारसँग आग्रह गरेका थिए । नेपालको औपचरिक भ्रमणमा रहेका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुरैखीसँग आफ्नै कार्यकक्षमा भएको भेटमा प्रधानमन्त्रीले त्यस्तो आग्रह गरेका थिए ।
कतारको मध्यस्थतामा इजरायल र हमासबीच चार दिने अस्थायी युद्धविराम र बन्दी साटफेर सम्झौता भएको थियो । थाईल्याण्डका प्रधानमन्त्रीको विशेष सक्रियता र कतारसँगको विशेष सम्बन्धका कारण आफ्ना नागरिक छुटेको अनुमान गर्न सकिन्छ । विपिन जोशीको रिहाईको लागि नेपालले अझै पनि कुटनीतिक सक्रियता देखाउनुपर्ने आवश्यकता झनै खड्किएको छ ।
हमासले यस युद्धबिरामका दौरान चार दिनभित्रमा जम्मा ५० जना बन्धक रिहा गर्ने बताइएको छ । सुरुमा महिला र बालबालिका छाडिने सम्झौता छ । आज र भोलिसम्ममा हमासले रिहा गर्नेमा विपिन पर्ने नपर्नेबारे अझै टुंगो भने लाग्न सकेको छैन । कुटनीतिक अधिकारीहरु सरकारले उनको रिहाईका लागि अझै पहल गर्न आवश्यक रहेको सुझाव दिने गरेका छन् ।