काठमाडौं । दाङको भालुबाङमा शुक्रबार राति १० बजे बस दुर्घटनामा परेकोमा घाइते यात्रुहरुको भने बिहान ३ बजे उद्दार भएको पाइएको छ । इलाका प्रहरी कार्यालय भालुवाङका इन्स्पेक्टर उज्ज्वलबहादुर सिंहले सेतोपाटीसँग राति दस बजे दुर्घटना भएको बसबाट यात्रु निकाल्दा बिहानको ३ बजेको बताएका छन् । आफूहरू पुग्दा अगाडिको भाग पानीमा र पछाडिको भाग बगरमा रहेको दुर्घटनाग्रस्त अवस्थामा रहेको इन्स्पेक्टर सिंहले बताएका छन्।
उक्त दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । समयमा नै उद्दार गरी उपचार गरिएको भए मृत्यु हुनेको संख्या कमी हुने अनुमान गरिएको छ ।
उनका अनुसार बस उल्टो परेर पल्टिएका कारण बसभित्र रहेका यात्रुहरूलाई उद्धार गर्न निकैबेर लागेको हो।
चालक सल्यानको त्रिबेणी गाउँपालिका – ४ का २८ वर्षीय लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। प्रहरीले बस चेकपोइन्टमा नरोकेको र तिव्र गतिमा रहेको जनाएको छ । चालकले भने चक्का नघुमेपछि बस पुलबाट राप्ती नदीमा खसेको प्रहरीसँग बयान दिएका छन् ।