मालपोतका एक नासुमाथि २२ करोडको बिगो दाबी, ५ वर्ष जेल बस्नुपर्ने

काठमाडौं । मालपोतका एक जना नासु मदनप्रसाद गुप्तामाथि साढे २२ करोड हिनामिना गरेको भन्दै मागदाबीसहित अदालतमा मुद्दा दर्ता भयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, पर्साका नासु गुप्ता विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

उनीमाथि ६ वटा भ्रष्टाचारका मुद्दा रहेका छन् । जसमध्ये २०७६ साल जेठ १ मा २ करोड ५० लाखको दाबीसहित पहिलो मुद्दा दर्ता भयो । त्यस्तै २०७६ जेठ १ मै अर्को मुद्दा दर्ता भयो । जेठ तीन गते दर्ता भएको अर्को मुद्दामा ४ करोड ५८ लाखको बिगो मागदाबी थियो भने २०७६ मंसिर २ गते चौथो मुद्दा दर्ता गर्दै उनीमाथि ७७ लाख ८६ हजारको बिगो दाबी गरियो । २०७६ साल मंसिर ११ गते पनि अर्को मुद्दा दायर भयो जसमा १४ करोड ८१ लाख बिगो दाबी थियो भने छैंटौं मुद्दा २०७९ साल असोज ७ गते दर्ता गरियो जसमा १२ लाख ३७ हजार बिगो माग दाबी थियो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले उनै गुप्तालाई ५ वर्ष कैद सजाय सुनाएको छ । अर्का आरोपित नगेन्द्र प्रसाद चौधरीलाई ४ वर्ष कैद सजाय सुनाइएको छ ।

मालपोत कार्यालयको राजस्व रकम हिनामिना गरेको आरोपमा दुवै जनाबाट ४७ लाख ५४ हजार रुपैयाँ भराउने र त्यसको दोब्बर अर्थात ९५ लाख ८ हजार रुपैयाँ जरिवाना तिराउने आदेश छ ।

अख्तियारको आरोपपत्र अनुसार, जग्गा कारोवारका क्रममा प्राप्त हुने राजस्वको रकम र विस्तृत विवरण लेखा शाखामा नबुझाई उनले हिनामिना गरेका थिए ।

अख्तियारका अनुसार, १६ माघ २०६९ देखि आठ दिनको अवधिमा संकलन भएको १४ लाख रुपैयाँ राजस्वमध्ये उनले एक लाख ६२ हजार रुपैंया मात्रै लेखा शाखामा बुझाइ अरु रकम हिनामिना गरेका थिए । त्यतिबेला उनीमाथि ‘उठाएको राजस्व प्रचलित कानुन बमोजिम दाखिला नगरी हिनामिना गरेको’ आरोप थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।