काठमाडौँ — बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले बिहीबार फैसला सुनाउने भएको छ । मुद्दाको अन्तिम किनारा लगाउने गरी विशेषले उक्त मुद्दालाई बुधबार हेर्दाहेर्दैमा राख्दै आएकाे छ । उक्त मुद्दा विशेषका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा परेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ मा ललिता निवासको १ सय ३६ रोपनी जग्गा हिनामिना अभियोगमा पूर्वउपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारसहित १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । गच्छदारसहित पूर्वमन्त्रीहरू चन्द्रदेव जोशी र डम्बरबहादुर श्रेष्ठ, तत्कालीन सचिवहरू दीप बस्न्यात, छविराज पन्त र दिनेशहरि अधिकारीसहितका उच्च पदस्थ पदाधिकारी तथा कर्मचारीदेखि खरिदारसम्मका व्यक्ति यस मुद्दामा प्रतिवादी छन् । बस्न्यात अख्तियारका पूर्वप्रमुख आयुक्त तथा पन्त खिलराज रेग्मी नेतृत्वको सरकारका मन्त्रीसमेत हुन् ।
सार्वजनिक पद धारण गरेका मन्त्री र सचिवसहितका ६० जना पदाधिकारी एवं कर्मचारी र ललिता निवासका तत्कालीन भोगाधिकारी सुवर्णशमशेर राणाका हकदार रुक्मशमशेरसहित भूमाफिया/व्यापारी, बिचौलिया र जग्गा हिनामिना गरी आफ्ना नाममा लैजाने ५० गरी १ सय १० जनालाई बिगो, कैद र जरिवाना तथा हाल जग्गा आफ्ना नाममा भएका ६५ जनालाई जग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाएर अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।