अमेरिकी सदनबाट टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक पारित

टिकटकले आफ्नो चिनियाँ मूल कम्पनीसँग सम्बन्धविच्छेद गर्न वा संयुक्त राज्य अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्ने विधेयक अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट बुधबार पारित भएको छ ।

भिडियो साझा गर्न मिल्ने र १७ करोड अमेरिकी प्रयोगकर्ताले प्रयोग गर्दै आएको चिनियाँ एप टिकटकका लागि यो कानूनले  ठूलो धक्का दिने विश्लेषकहरूले बताएका छन् । 

टिकटकले विश्वभर लोकप्रियतामा वृद्धि गरेको छ तर यसको चिनियाँ स्वामित्व र बेइजिङमा कम्युनिस्ट पार्टीको सम्भावित अधीनले विश्वसामु चिन्ता पैदा गरेको छ ।

टिकटकका विषयमा राजनीतिक रूपमा विभाजित वासिङ्टनमा एकताको दुर्लभ क्षण सिर्जना भएको छ । सांसदहरूले प्रस्तावित कानूनको पक्षमा ३५२ र विपक्षमा ६५ मत दिएका छन् । 

रिपब्लिकन र डेमोक्र्याट दुवैले चुनावी वर्षमा टिकटकका भावुक युवा प्रयोगकर्ताहरूको क्रोधको जोखिम उठाएपछि एप प्रयोगको विपक्षमा आएको चेतावनीले धेरैलाई आश्चर्यचकित पारेको छ । अमेरिकी निर्वाचनमा युवाहरूको भावना र भूमिकालाई महत्त्वपूर्ण मानिन्छ । 

अमेरिकी प्रतिनिधिसभाका सभामुख माइक जोनसनले मतदानपछि भन्नुभयो, “आजको मतदानमा संसद्भित्रका दलहरूबीचको एकताले चीनले अमेरिकीमाथि जासुसी गर्ने र छलछाम गर्ने प्रयासको विरोध गरेको देखाउँछ र हाम्रा शत्रुहरूलाई रोक्ने हाम्रो सङ्कल्पलाई सङ्केत गर्दछ ।”

उहाँले भन्नुभयो, “म सिनेटलाई पनि यो विधेयक पारित गर्न र राष्ट्रपतिलाई पठाउन आग्रह गर्दछु ताकि उहाँले यसलाई कानूनको रूपमा मान्यता दिन हस्ताक्षर गर्न सक्नुहुनेछ ।”

यो विधेयकको विषय सिनेटबाट अनुमोदन हुन अझै बाँकी छ  । अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त विधेयक संसद्बाट पारित भएर आए त्यसमा हस्ताक्षर गर्ने बताउनुभएको ह्वाइट हाउसले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।