पूर्वसभामुख महरालाई कारबाहीकाे तयारी

काठमाडौं । सरकारले सुनकाण्डमा मुछिएका पूर्वसभामुख कृष्णबहादुर महरालाई कारबाहीको तयारी थालेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करीमा संलग्नता रहेको आरोपित पूर्वसभामुख कृष्णबहादुर महरासहित प्रहरी अधिकारी र निजामती कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएका छन् ।

उपप्रधान तथा गृहमन्त्री लामिछानेले गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख श्याम ज्ञवालीसँगको छलफलपछि उक्त निर्देशन दिएका हुन् । कृष्णबहादुर महरासहित प्रतिवेदनले औंल्याएका निजामती तथा प्रहरी कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

सुन तस्करीको छानबिन गर्नका लागि पूर्वन्यायाधीशको नेतृत्वमा गठन गरिएको सुनको अवैध पैठारी ९तस्करी० नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले बिहीबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको आयोगले बुझाएको प्रतिवेदन प्रधानमन्त्रीलाई गृहमन्त्रीले बुझाएका थिए । उक्त प्रतिवेदन कार्यान्वयन गर्न मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।