ललितपुर – ललितपुरको गोदावरी नगरपालिका–४ बडीखेल जङ्गलमा लागेकाे डढेलो निभाउने क्रममा घाइते भएका एक जनाकाे ज्यान गएकाे छ ।

आगलागीमा परि स्थनीय शंकर पहरी घाइते भएका जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिनुभयो । उहाँकाे उपचारका क्रममा कीर्तिपुर जलन उपचार अस्पतालमा ज्यान गएकाे एसपी सुवेदीले बताउनुभयाे ।

बडीखेल जङ्गलमा लागेकाे डढेलाे निभाउने क्रममा आज शंकर र रमेश पहरी घाइते भएका थिए । रमेशकाे अहिले कीर्तिपुर जलन उपचार अस्पतालमै उपचार भइरहेकाे छ ।

वडा नम्बर ३ को फूलचोकी जङ्गल क्षेत्रबाट शुरु भएको डढेलो फैलिएर वडा नम्बर ४, ५ र ६ मा पुगेको गाेदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले जानकारी दिनुभयो । डढेलो फैलिएपछि वडा नम्बर ६ को आनन्द वन कुष्ठरोग अस्पताल पनि जोखिममा परेको छ । अस्पतालका ९३ जना बिरामीलाई अन्तै सारिएको छ । आनन्द वन अस्पतालमा कुष्ठरोगीको उपचार हुँदै आएको छ ।

डढेलो नियन्त्रणका लागि सेना, सशस्त्र, नेपाल प्रहरी, अग्नि नियन्त्रक तथा चार वटा दमलकसहितको टोली परिचालन गरिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।