काठमाडौं २६ वैशाख । करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ पुर्‍याउने लक्ष्य रहेको सुनकोशी मरिन डाइभर्सनको सुरुङ छिचोलिएको छ ।


नेपालका विकास निर्माण तथा हरेक क्षेत्रमा ढिलासुस्ती हुने गरेकोमा सुनकोशी मरिन डाइभर्सनको सुरुङ भने लक्ष्य भन्दा अगाडी नै छिचोलिएको हो । सुरुङ खन्न २२ महिनाको लक्ष्य लिइएकोमा ३ महिना २ दिनअगावै सम्पन्न भएको हो ।

एकै दिन ७२ मिटरसम्म सुरुङ खनिएको आयोजनाले जनाएको छ । ०७९ असोज २८ बाट सुरु भएको सुरुङ खन्ने काममा ६ पटक अवरोध भएको थियो । ०७७ फागुन २० मा कमलामाई–२ को कसुमटारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास भई आयोजना निर्माणको थालनी भएको थियो ।

राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टीबीएम स्विच थिचेपछि आयोजनाको प्रवेशद्वार कमलामाई नगरपालिका–२ कुसुमटारबाट सुरुङ खन्न पसेको टीबीएम मेसिन सुनकोशी नदी किनार कानढुङ्ग्रीबाट बाहिर निस्किएको थियो ।

सुरुङ निर्माणका लागि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ९कोभेक० ले टनेल बोरिङ मेसिनले सुरुङ खनेको हो ।

विद्युत् उत्पादनसँगै वाग्मती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने आयोजनाको मुख्य उद्देश्य छ । आयोजनाको कुल लागत ४९ अर्ब ४२ करोड छ । आयोजनाको सुरुङ छिचोलिएपछि निर्माण सम्पन्न हुन अझै एक वर्ष लाग्ने बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।