कालिकोट — कर्णाली राजमार्गको सुर्खेत-जुम्ला सडकमा रात्रीकालीन यातायात संचालन गर्न कालीकोटका नागरिकले माग गरेका छन् । सडकको स्तरोन्नति गर्नुको सट्टा गाडी संचालनमा रोक लगाएर सरकारले नागरिकलाई सास्ती दिएको गुनासो गर्दै यहाँका नागरिकले राजमार्गमा २४ सैँ घण्टा यातायात खुलाउन माग गरेका हुन् । एक दशकअघि बढी सडक दुर्घटना भएको भन्दै सरकारले कर्णाली राजमार्गमा रात्रीकालीन यातायात बन्द गर्ने निर्णय गरेको थियो ।
कालीकोट र जुम्ला जिल्ला प्रशासनको अनुरोधमा सरकारले कर्णाली राजमार्गमा रात्रीकालीन यायातात रोकेको थियो। त्यसयता सुर्खेत-जुम्ला खण्डमा बेलुकी ८ बजेदेखि बिहान ५ बजेसम्म यात्रुबाहक तथा मालबाहक यातायात संचालन गर्न पाइदैन ।
०६८ को भदौमा कालीकोटको वित्तामोड दुर्घटनामा २८ जनाको ज्यान गएपछि रात्रीकालीन गाडी संचालनमा रोक लगाइएको थियो । तर, कर्णाली राजमार्गमा ०६६ चैत्रमा ४२ जनाको ज्यान जाने गरी भएको किटु दुर्घटना बिहान ९ बजे भएको थियो भने १८ जनाको ज्यान गएको खिड्कीज्यूला बस दुर्घटना पनि दिउँसो नै भएको थियो । सरकारले सडक गतिलो बनाउनुको सट्टा गाडी संचालनमै रोक लगाएर कर्णालीबासीलाई अन्याय गरेको अधिकारकर्मी कर्णप्रसाद चौलागाईले बताए ।