काठमाडौँ —प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रालयगत बजेट र योजना मन्त्रीहरूका क्षेत्र र जिल्लामा केन्द्रित भएको विषयमा संसद्मा जवाफ दिएका छन् । एमाले सांसद ठाकुर गैरेले बजेट र योजना लैजान मन्त्री नै बन्नुपर्ने हो ? भनेर प्रश्न गरेका थिए ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद गैरेले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले सकेसम्म बजेट र योजनाको समानुपातिक ढंगले विनियोजन गरिएको बताए । ‘बजेट तथा योजना लैजान मन्त्री नै बन्नुपर्ने होइन, सकेसम्म समानुपातिक ढंगले बजेट विनियोजन गरिएको छ,’ प्रधानमन्त्री दाहालले भने । आगामी दिनमा अझै बजेट र योजनाको विनियोजन समानुपातिक ढंगले गर्नमा जोड दिइने बताए ।
३ करोडभन्दा कम रकमका योजना संघीय सरकारले अगाडि नबढाउने बताएको कुरालाई यसपटक बजेट निर्माणपूर्वको राजनीतिक उतारचढावले असर पारेको प्रधानमन्त्रीको तर्क थियो ।