काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ गट्ठाघरमा बिहीबार दुर्घटनामा परेको स्कुटर ट्राफिक प्रहरीले नरोकेको सीसीटीभी फुटेजमा देखिएको छ।
दुर्घटनास्थलको सीसीटीभी फुटेजमा दुर्घटनामा परेको स्कुटर र ट्रक दुबैलाई ट्राफिक प्रहरीले नरोकेको देखिएको हो ।
ट्राफिकले जाँच गर्ने क्रममा रोकेको स्कुटरलाई ट्रकले ठक्कर दिएर स्कुटर चालकको मृत्यु भएको भन्दै बिहीबार प्रदर्शन भएको थियो । सीसीटीभी फुटेजमा भने ट्राफिकले स्कुटरलाई नरोकेको देखिएको हो ।
‘दिउँसो १ः५९ बजे ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै ज्यान गएको थियो । दुर्घटनास्थल नजिकै ३ जना ट्राफिक ड्युटीमा खटिएको सीसीटीभी फुटेजमा देखिन्छ । सोही क्रममा काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको ट्रकले आफूभन्दा अघि रहेका स्कुटरलाई किच्दै अघि बढेको देखिन्छ । स्कुटर देब्रेतर्फ उछिटिन्छ भने स्कुटरमा सवार पुरुषलाई घिर्सादै ट्रक केही मिटर परसम्म पुगेको देखिन्छ ।’ ट्राफिक प्रहरीले भनेको छ ।
यो दुर्घटनामा परेर ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–४ खहरे घर भइ काठमाडौं कपनमा बस्दै आएका ६५ वर्षका उत्तम कोइरालाको मृत्यु भएको छ ।