काठमाडौं । नियमित सेवालगायतको माग राखेर स्थानीय युवाहरूले सल्यान जिल्लाको कुमाख गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
नियमित सेवा र कार्य सम्पादन कानुनको अधिनमा रही छिटोछरितो हुनुपर्नेमा झन्झटिलो र स्वेच्छाचारी ढंगले गर्ने गरेको एवं अध्यक्ष तथा उपाध्यक्षलाई बुझाएको ध्यानाकर्षणका विषयमा बेवास्ता गरेको भन्दै युवाहरूले आइतबार दिउँसो तालाबन्दी गरेका हुन् ।
युवाहरूले पालिकाले दिने सेवामा लापरबाही गरेको भन्दै नाराबाजीसमेत गरेका थिए । ३०/४० जनाको समूहमा आएका युवाहरूले पालिकाको गेटमै ताला लगाएको र प्रहरीले ताला तोडेपछि कार्यालयमा प्रवेश गरी अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेको र प्रहरीको टोलीले कार्यालयको सेवा भने सुचारु गराएको छ ।