काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गरेका चणिकलाल तामाङलाई सम्मान गरेका छन् । उनले आफ्नै निवास खुमलटारमा बोलाएर तामाङलाई सम्मान गरेका हुन् ।
तामाङले शनिबार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेर बचाएका थिए । टहराको छानामाथि चढेर गुहार मागिरहेका उनीहरू टहरासँगै बगेका थिए ।
खोलाले बगाएर झण्डै पाँच सय मिटर तल पुर्याएपछि तामाङले उर्लिँदो भेलमा हाम फालेर दुई जनाको उद्धार गरेका थिए । उद्धार गरिएका दुवै जनाको हाल पाटन अस्पतालमा उपचार भइरहेको छ । सँगै बगेका राजुका भाइ २२ वर्षीय राज आफैँ पौडेर बाँचेका थिए भने राजकी छोरी ४ वर्षीया शेर्तु साहको अवस्था अज्ञात रहेको छ ।
काभ्रेको तेमाल गाउँपालिका ९ चोकटार घर भएका तामाङ माओवादी केन्द्रनिकट ‘शहीद’ परिवारका सदस्य हुन् । उनका दाइ तत्कालीन जनयुक्त सेनाका कमाण्डर चन्द्र तामाङ ‘शुक्र’को जनयुद्धका क्रममा सर्लाहीमा निधनभएको थियो ।








