नागरिकको ज्यान गइरहेको घडीमा गृहमन्त्रीको सफेद झुट

काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपतको आवश्यक पूर्वतयारी गर्नुपर्नेमा त्यो त गरेनन् नै- अझ, यस्तो विषम परिस्थितिमा सफेद झुट बोलेर दुनियाँलाई आँखामा छारो हाल्ने काम गरेकाे पाइएकाे छ ।

मौसम विभागले केही दिनदेखि नै देशैभर ठूलो वर्षा हुने प्रक्षेपण गरेको थियो । उक्त प्रक्षेपण अनुसार गृह मन्त्रालयले आवश्यक तयारी नगर्दा शनिबार देशभर ठूलो धनजनको क्षति हुन पुगेको छ ।

विपत मानवीय नियन्त्रणमा नहुने भएपछि कतिपय विपतका घटना मानवीय तयारीबाट रोक्न सकिने समेत हुने गर्दछन् । त्यस्तै, एउटा घटना ललितपुरको नख्खुमा घटेको छ । नख्खुमा बाढीमा फसेका चार जना ४५ मिनेटसम्म उद्धारको आशामा टहराको छानामा बसेका थिए । लामो समयसम्म सरकारले उनीहरुको उद्धारको बेवास्ता गर्दा उनीहरुलाई बाढीले बगायो ।
सामाजिक सञ्जालमा उनीहरुले उद्धारको हारगुहार गरिरहेको र बगाएको समेत लाइभ देख्न सकिन्थ्यो ।

सरकारले चाहेको खण्डमा हेलिकप्टर प्रयोग गरेर सहजै उनीहरुको उद्धार गर्नुपर्नेमा बेवास्ता गरेको पाइयो । उनीहरुलाई बाढीले बगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै सरकारको कडा आलोचना हुन थालेपछि भने बल्ल नेपाल सरकारको कमान्ड पोस्टको सिंहदरबारमा बैठक बसेको थियो ।

उक्त बैठकपछि गृहमन्त्री लेखकले उल्टै झुट बोलेका थिए । उनले नख्खुको नदीछेउको एक टहराको छतमा रहेकाहरूलाई भिजिबिलिटीका कारण हेलिकप्टरबाट उद्धार गर्न नसकिएको र स्थलमार्गबाट पनि उद्धारको प्रयास असफल बताएका थिए ।

उक्त बेला, नख्खुमा हेलिकप्टरबाट उद्धारको प्रयास नै गरिएको थिएन । लाइभ भिडियो अनुसार उनीहरुलाई बाढीले बगाउनु अगाडी दुई जना प्रहरी कुनै उद्धारको सामग्री बिना नै घटनास्थल पुगेको भनेर लाइभमै भनेको सुन्न सकिन्छ ।

यता, गृहमन्त्रीले उद्धार गर्न सकिएन भनेर मिडियालाई भनिरहेकै बेला काभ्रेका चणिकलाल तामाङले जोखिम मोलेर दुई जनालाई उद्धार गरिसकेका थिए

तामाङले शनिबार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेर बचाएका थिए ।
खोलाले बगाएर झण्डै पाँच सय मिटर तल पुर्‍याएपछि तामाङले उर्लिँदो भेलमा हाम फालेर दुई जनाको उद्धार गरेका थिए । उद्धार गरिएका दुवै जनाको हाल पाटन अस्पतालमा उपचार भइरहेको छ । सँगै बगेका राजुका भाइ २२ वर्षीय राज आफैँ पौडेर बाँचेका थिए भने राजुकी छोरी ४ वर्षीया शेर्तु साहको अवस्था अज्ञात रहेको छ ।

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तामाङलाई सम्मान गरेका छन् । उनले आफ्नै निवास खुमलटारमा बोलाएर तामाङलाई सम्मान गरेका हुन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।