काठमाडाैं । बिहीबार रातिदेखि शनिबार बिहानसम्मको अविरल वर्षाका कारण देशभरि २१ हजार मिटर बाटो भत्किएको पाइएको छ। सडक विभागका उच्च कर्मचारीहरूले आइतबार वर्षाले उपत्यकासहित देशभरि सडक र पुलमा पुर्याएको क्षति र मर्मत तथा पुनर्निर्माणबारे प्रारम्भिक अध्ययन गरेका थिए।
विभागका सूचना अधिकारी अमित शर्माले वर्षाले देशभरिका विभिन्न राजमार्गका गरी २१ हजार मिटर सडकमा क्षति पुगेको र पाँचवटा पुलमा क्ष्ति भएको पुल मर्मत तथा पुनर्निर्माण गर्न तत्काल साढे २ अर्ब खर्च लाग्ने प्रारम्भिक अनुमान रहेको जानकारी दिए। उनका अन्ुसार ‘अरनिको, कान्ति, बिपी राजमार्गमा गम्भीर क्षति पुगेको छ,’ शर्माले भने, ‘यसैगरी पृथ्वी राजमार्गलगायत देशभरि ४२ वटा राजमार्गमा क्षति पुगेको हाम्रो अनुमान छ,’ उनले भने। विभागका अनुसार बिपी राजमार्गमा एक हजार पाँच सय ५० मिटर बाटोमा गम्भीर क्षति पुगेको छ। यसबाहेक अन्य थुप्रै ठाउँमा अन्य सानोतिनो क्षति भएको छ। बिपीमा तीन ठाउँमा ठुल्ठुला क्षति भएका छन्।
तीमध्ये एक ठाउँमा तीन सय मिटरभन्दा लामो सडकमा क्षति पुगेको छ। यसैगरी देशभरि पाँचवटा पुलमा पूर्ण क्षति भएको छ। जसमा दुईवटा बेलिब्रिज पुलसमेत छन्। खुकोर्टमा रहेको सुनकोसी पुलमा पनि पूर्ण क्षति भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता सुशीलबाबु ढकालले अवरुद्ध भएका सबै सडक एक साताभित्र खुलाउने गरी काम भइरहेको बताए। ‘शनिबार साँझदेखि नै सडक खुलाउन प्रयास भइरहेको छ।
दुईतीन दिनभित्रै मुख्य मुख्य राजमार्गमा अवरोध हटाउछौं,’ उनले भने। विभागले आइतबार साँझ विज्ञप्ति जारी गर्देै असोज १० गतेदेखिको अविरल वर्षाका कारण देशभरिका ८० वटा राष्ट्रिय राजमार्गमध्ये आइतबार साँझ ७ बजेसम्म १७ वटा राजमार्गका विभिन्न ४७ स्थानमा बाटो अझै अवरुद्ध छ। नागरिक दैनिकमा समाचार छ ।