काठमाडौं २ कात्तिक। सरकारले सहकारी हिनामिना प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्ने अन्तिम तयारी गरेको छ । उनलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति समेत लिएको छ ।

लामिछानेलाई सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ पुर्जीको माग गरेर जिल्ला प्रहरी कार्यालय, कास्की अदालत पुगेको थियो । स्रोतका अनुसार अदालतले लामिछानेलाई पक्राउका लागि अनुमति दिएको छ । अदालतको अनुमतिपछि काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेर कास्की लैजाने प्रहरीकाे तयारी छ ।

पोखराको सूर्यदर्शनसमेतका ७ सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको छानबिन समितिले खुलाएको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको प्रतिवेदनका आधारमा १६ असोज २०८० मै गितेन्द्रबाबु (जिबी) राई, कुमार रम्तेलसहित १९ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । त्यसमा एक अर्ब ११ करोड रुपैयाँ बिगो मागदाबी गरिएको थियो ।

यता, आज मात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरुको बैठकमा लामिछानेलाई सरकारले पक्राउ गर्न लागेको सुचना पाएको बताएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।