काठमाडौँ, १६ मङ्सिरः सन् २०२४ को ११ महिनामा १० लाख ५५ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यस वर्षको जनवरीदेखि नोभेम्बरसम्म हवाई मार्ग भएर १० लाख ५५ हजार पाँच सय ३३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।
उक्त तथ्याङ्क अनुसार सन् २०२४ मा १३ लाख १५ पर्यटक स्वागत गर्ने लक्ष्य हासिल गर्न कठिन हुने देखिएको छ । सन् २०२४ अन्त्य हुन अब एक महिना मात्र बाँकी छ । डिसेम्बरमा करिब ७० हजार पर्यटक आउने बोर्डले अनुमान गरेको छ । यसरी हेर्दा वर्ष २०२४ मा ११ लाख १५ हजार हाराहारी मात्रै पर्यटक भित्रिने देखिन्छ ।
नोभेम्बरमा मात्रै एक लाख १४ हजार पाँच सय एक पर्यटक आएका छन् । यो अघिल्लो वर्ष सन् २०२३ को सोही महिनाको तुलनामा पाँच दशमलव ४० प्रतिशत बढी हो । उक्त वर्षको नोभेम्बरमा एक लाख आठ हजार छ सय ३० पर्यटक भित्रिएका थिए । सन् २०१९ को नोभेम्बरमा एक लाख ३० हजार तीन सय तीन विदेशी पर्यटकले नेपाल भ्रमण गरेका बोर्डको तथ्याङ्कमा उल्लेख छ ।
बोर्डका निर्देशक मणिराज लामिछानेले हालसम्मको पर्यटक आगमन विश्लेषण गर्दा सन् २०२३ को तुलनामा झण्डै १० प्रतिशत मात्रै बढ्ने देखिएको बताउनुभयो । सन् २०२३ मा १० लाख १४ हजार आठ सय ७१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका उहाँले जानकारी दिनुभयो ।
बोर्डले सन् २०२४ मा कोरोना महामारीपूर्व सन् २०१९ मा आएका पर्यटक भन्दा बढी आउने अनुमान गरेको थियो । सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल आएका थिए । एसिया प्यासिफिक क्षेत्रको भन्दा नेपालको पर्यटन पुनरुत्थान माथि रहेको बोर्डका निर्देशक लामिछानेले उल्लेख गर्नुभयो ।
संयुक्त राष्ट्रसङ्घ विश्व पर्यटन सङ्गठन (युएनडब्लुटिओ) को छ महिनाको आँकडा अनुसार विश्वव्यापी रूपमा ९६ प्रतिशतले नेपालको पर्यटन पुनरुत्थान भएको छ । उक्त अवधिमा विश्वव्यापी ९३ प्रतिशत पर्यटन पुनरुत्थान भएको जनाइएको छ । विभिन्न कारणले सन् २०२४ मा प्रक्षेपण गरिएको पर्यटक आगमन लक्ष्य भेट्टाउन कठिन भएको बोर्डका निर्देशक लामिछानेले उल्लेख गर्नुभयो ।
“हालसम्मको पर्यटक आगमन हेर्दा विश्वव्यापी रूपमा नेपालको पर्यटक आगमन सकारात्मक देखिन्छ”, उहाँले भन्नुभयो, “पर्यटनका विभिन्न सूचकलाई विश्लेषण गर्दा सन् २०१९ को भन्दा बढी पर्यटक आउने प्रक्षेपण गरिएको थियो । लामो समयसम्म बोर्डको अन्तर्राष्ट्रिय प्रवर्द्धन रोकिनु, विमान दुर्घटना र प्राकृतिक विपत्तिलगायत कारणले पर्यटक आगमन सुधार हुन नसकेको अनुमान गरिएको छ ।” रासस