काठमाडौं ११ पुस । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश र काठमाडौं शाखामा निर्वाचित नयाँ निर्वाचित कार्यसमितिलाई प्रगतिशिल पत्रकार संघ, बागमती प्रदेशले सम्मान गरेको छ ।
संघले काठमाडौंमा आज एक कार्यक्रमको आयोजना गरी उपत्यका प्रदेश समितिको नयाँ निर्वाचित कार्यसमिति, काठमाडौं शाखाको नयाँ निर्वाचित कार्यसमिति र उपत्यका प्रदेशबाट निर्वाचत केन्द्रीय सदस्यलाई सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा बोल्दै नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले गलत समाचार सामग्री प्रकाशन प्रसारण गर्नु पत्रकारको कर्तव्य नभएको भन्दै पत्रकारले जहिले पनि सत्यतथ्यमा आधारित भएर समाचार सम्प्रेशण गर्नुपर्ने बताए । उनले समाजलाई आशा जगाउने खालको समाचार सम्प्रेषण गर्न अनुरोध समेत गरे ।

अखिल नेपाल महिला संघकी अध्यक्ष मिना पुनले पत्रकारले जहिले पनि समाजलाई खबरदारी गरिरहनुपर्ने र पत्रकार मर्यादित ढंगले प्रस्तुत हुुनुपर्ने बताइन् ।

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका नवनिर्वाचित अध्यक्ष टेनिस रोकाले पत्रकार जिम्मेवार र जवाफदेही बन्नुपर्ने जोड दिँदै यस क्षेत्रका समस्या समाधानका लागि सबैसँग हातेमालो गरेर अघि बढ्ने बताए । काठमाडौं शाखाकी नवनिर्वाचित अध्यक्ष शोभा अर्यालले सबैको साथ सहयोग र एकताबद्ध भएर अघि बढेर पत्रकार र यस क्षेत्रको समस्या हल गर्दै जानुपर्ने बताइन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।