काठमाडौं । अब टेलिकमकाे वाईफाई नेटवर्कमार्फत फोन कल गर्न सकिने भएकाे छ । नेपाल टेलिकमले मंगलबार टेलिकमको २१औँ वार्षिकोत्सवको अवसरमा ‘भोवाईफाई’ (VoWiFi) सेवा व्यावसायिक रूपमा सञ्चालनमा ल्याएको हाे ।

यस प्रविधिमार्फत ‘भोवाईफाई’ सपोर्ट गर्ने र भोल्टे सेवा सक्रिय भएका कुनै पनि मोबाइल फोनबाट नेपालभित्र तथा विदेशबाट वाईफाई नेटवर्कमार्फत नेपाल टेलिकमकै मोबाइल नम्बर प्रयोग गरी भ्वाइस तथा एसएमएस सेवा लिन सकिनेछ ।

यस प्रविधिले प्रयोगकर्तालाई वाईफाई नेटवर्कमार्फत फोन कल तथा एसएमएस सेवा प्रयोग गर्न सक्ने सुविधा प्रदान गर्छ । सामान्यतया, मोबाइल कलहरू सेलुलर नेटवर्क (जस्तै टुजी, थ्रीजी, फोरजी) को माध्यमबाट गरिन्छ । तर ‘भोवाईफाई’ सेवाले मोबाइल नेटवर्क नभएको ठाउँमा पनि वाईफाईमार्फत कल गर्न र एसएमएस पठाउन सकिने टेलिकमले जनाएकाे छ ।

कम्पनीका अनुसार नेपालभित्र यो सेवा प्रयोग गर्दा साविककै भ्वाइस/एसएमएस प्याकेज वा पे-एज-यू-गो दरअनुसार शुल्क लाग्नेछ । विदेशबाट यो सेवा प्रयोग गर्दा आगमन कल निःशुल्क हुनेछ भने बाहिर जाने कलको शुल्क प्रति मिनेट रु. ३ लाग्नेछ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।